गरिमा हत्या प्रकरण: दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश


eShilalekh

२४ भाद्र २०८३, बुधबार २२:२९

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि दुवै नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो ।

अदालतले बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानूनी व्यवस्था अनुसार उनीहरूलाई सुधार गृह पठाउँदै पीडित पक्षलाई तत्काल दुई लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश जारी गरेको छ ।

अदालतमा सरकारी वकील तथा जाहेरवालाका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले घटना गम्भीर अपराध भएकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गरेका थिए । जिल्ला बार एकाईका प्रतिनिधिहरूले पनि योजनाबद्ध रूपमा बालिकाको अपहरण, बलात्कार र हत्या गरिएको भन्दै कारागार चलानको माग राखेका थिए । प्रहरी प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षण रिपोर्टको अध्ययनपछि न्यायाधीश अधिकारीले सुरक्षा र कानूनी प्रावधानलाई ध्यानमा राख्दै बाल सुधार गृह पठाउने निर्णय गरेका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । नाबालकको हकमा २१ दिनभित्र अदालत पेश गर्नुपर्ने कानूनी प्रावधानका कारण सुरुमा दुई जनालाई मात्र अदालतमा उपस्थित गराइएको हो । प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हिरासतमा रहेका प्रोग्रेस चौधरीसहित अन्य १० जना अभियुक्तहरूलाई पनि अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

गत साउन ३१ गते प्रोग्रेसको घरमा खेल्न गएका बेला बेपत्ता भएकी गरिमा भदौ २ गते साँझ भक्तिनगरस्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन् । बालिकाको शव फेला परेलगत्तै स्थानीय र पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दै देशभर विरोध प्रदर्शन गरेका थिए ।

अनुसन्धानका क्रममा अस्पतालमा खिचिएको भिडियो सार्वजनिक भएपछि एक प्रहरी हवल्दारलाई थुनामा राखी अनुसन्धान अघि बढाइएको छ भने अन्य कर्मचारीमाथि पनि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ । गृह मन्त्रालयमा भएको सहमतिपछि भदौ ७ गते पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्