पर्सामा अवैध रूपमा भित्र्याइएको १७ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रण

वीरगन्जः पर्सा प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रभित्र अवैध रूपमा भन्सार छलेर स्कुटरहरू भित्राइएको र प्रयोगमा ल्याइएको जनगुनासो बढेपछि गरिएको खोजतलासको क्रममा ती सवारी साधनहरू फेला परेका हुन् ।
नियन्त्रणमा लिएका ती स्कुटरहरूको कुल बजार मूल्य १३ लाख ६० हजार रुपैयाँ रहेको पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि ती स्कुटरहरू वीरगन्ज भन्सार कार्यालयमा बुझाइने प्रहरीले जानकारी दिएको छ ।







