निजगढ नगर प्रमुखले गरे पदभार ग्रहण, नमुना बस्ती र सिचाई प्राथमिकतामा


eShilalekh

८ जेष्ठ २०७९, आईतवार २१:५६

सिमराः निजगढ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरथ पुरीले आईतवार पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसंग सपथ लिएसंग पुरीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसंगै नगर प्रमुख पुरीले निजगढको माझी, दलित र खयरघारी सुकुम्बासी बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने निर्णय गरेका छन् । निजगढ नगरपालिका ४ स्थित सहिद हिरालाल पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउदै उक्त पार्कको पूर्व र पश्चिमतर्फ रहेको दुई वटा बस्तीलाई नमुना बस्तीको रुपमा अघि बढाउने निर्णय गरेका हुन् ।

हिरालाल पार्कको पूर्वतर्फ रहेको माझी, दलित र निजगढ ८ मा पर्ने खयरघारी सुकुम्बासी बस्तीका नागरिकको जीवनस्तर र सहज जीवनयापनका लागि दुवै बस्तीलाई नमुना बस्तीको रुपमा अघि बढाउने निर्णय भएको नगरपालिकाका प्रशासन प्रमुख रविन घिमिरेले जानकारी दिए ।

यसैगरी नगर प्रमुख पुरीले निजगढ नगरपालिका भित्रको कृषीयोग्य जमिनमा वैकल्पिक उपाय अपनाएर भएपनि सिचाई सुविधा पुर्‍याउने निर्णय गरेका छन् । कृषीयोग्य जमिनमा सिचाईको अभाव नहुने गरी काम अघि बढाउने नगर प्रमुख पुरीले निर्देशन समेत दिएका छन् ।

यसैगरी पुरीले नगरपालिकाको सेवालाई सरल र सहज बनाउन विद्युतिय हस्ताक्षरसहितको अनलाईनमा आधारित सेवा तत्काल लागु गर्ने निर्णय गरेका छन् । सेवाग्राहीले जुनसुकै स्थानमा बसेर भएपनि नगरपालिकाको सेवा लिन सक्ने गरी प्रविधिको विकास र सुरुवात गर्ने निर्णय गरेका हुन् ।

पुरीको पदभार ग्रहण कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, निवर्तमान उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, प्रशासन प्रमुख रविन घिमिरेलगायत जनप्रतिनिधि, स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्