नगर प्रमुख पौडेलले गरे पदभार ग्रहण, आधारभूत तहका विद्यार्थीलाई निशुल्क पोशाक


eShilalekh

९ जेष्ठ २०७९, सोमबार ११:५५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । जिल्ला न्यायधिस एवम् बाराको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीसंग आईतवार सपथ लिएका पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नगर प्रमुख पौडेलले सामुदायिक विद्यालयमा भर्ना हुने आधारभूत तहका विद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । कक्षा १ देखी ५ सम्म भर्ना हुने विद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको नगर प्रमुख पौडेलले बताए ।

पदभार ग्रहण गर्नुअघि उनले जनयुद्धका शहिद परिवारलाई सम्मान गरेका थिए । पदभारपछि ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका पौडेल जनयुद्ध सम्झिएर भावुक बने । जनयुद्धका क्रममा बेपत्ता रहेका र ज्यान गुमाएका नागरिकलाई सम्झदै नगर प्रमुख पौडेलले जनयुद्धकै बलमा आफूले उपमहानगरपालिकाको नगर प्रमुख सम्मको यात्रा तय सकेको बताए ।

पदभार ग्रहण कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, उपमहानगरपालिकाका लेखाप्रमुख राजेन्द्र कार्की, प्रशासन प्रमुख बालाराम खड्कालगायतको उपस्थिती रहेको थियो ।

नगर प्रमुख पौडेलले बनाए ईजलास कक्षको स्थानमा आफ्नो कार्यकक्ष

नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकाको न्यायीक ईजलास कक्षलाई माथिल्लो तल्लामा सारेर उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाउदै पदबहाली गरेका छन् ।

निवर्तमान नगर प्रमुखको कक्षमा नबसेका पौडेलले ईजलास कक्षलाई सभाहलमा सारेर उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाएका हुन् ।

नगर उपप्रमुखको कार्यकक्षसंगै रहेको न्यायीक ईजलास कक्षमा प्रमुख बसेपछि ईजलास कक्षलाई सभाहलमा सारिएको छ । नगर प्रमुख पौडेलले निवर्तमान नगर उपप्रमुखको कार्यकक्षलाई ‘वेटिङ रुम’ बनाएका छन् ।

उपप्रमुखको कार्यकक्षलाई ‘वेटिङ रुम’ बनाएपछि निवर्तमान नगर प्रमुखको कक्षलाई नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारीको कार्यकक्ष बनाउने तयारी गरिएको छ । उपमहानगरपालिकामा सोमबार दिउँसो हुने सपथ ग्रहणपछि उपप्रमुख अधिकारीले तत्कालिन नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्