महोत्तरीमा अवैध कपडासहित दुई मोटरसाइकल बरामद

महोत्तरी: सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणमा कपडासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीबाट खटिएको नियमित मोटरसाइकल गस्ती टोलीले जिल्लाको रामगोपालपुर नगरपालिका-२ स्थित टेगर रोड क्षेत्रबाट उक्त अवैध सामान बरामद गरेको हो।
बरामद गरिएका कपडा र मोटरसाइकलको जम्मा बजार मूल्य पाँच लाख २५ हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि सामान ल्याउँदै गरेका तस्करहरू भने सामान र मोटरसाइकल छाडेर फरार भएका थिए।
बरामद गरिएका कपडा तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।







