निजगढमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

सिमराः बाराको निजगढ नगरपालिका-१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छिन् ।
घरायसी विवादका क्रममा ५५ वर्षीय विजय मोक्तानले बुधवार राति आफ्नै श्रीमती सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी सुकुमायालाई घरमै स्थानीय मेडिकलका स्वास्थ्यकर्मी बोलाएर जाँच गराइएको थियो । उपचारपछि राति ८ बजे खाना खाएर सुतेकी उनलाई बिहिवार बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा मृत अवस्थामा भेटिएकी हुन् ।
श्रीमतीको मृत्यु भएपछि विजय आफैंले बिहान अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराएका थिए । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले शव शल्य परिक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल बारा पठाएको छ भने कुटपिटमा संलग्न विजयलाई नियन्त्रणमा लिएको छ ।







