धनुषा: सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा एक युवक पक्राउ

जनकपुर: धनुषा प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका- १३ धाताटोलका १८ वर्षीय सुमन पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर डरत्रास फैलाउने तस्बिर पोस्ट गरेका थिए। प्रहरीले उनलाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका पटेलमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







