पर्सामा प्लास्टिकको बोरामा लुकाइएको १२ बोर भरुवा बन्दुक बरामद

वीरगन्जः पर्सा प्रहरीले सोमवार दिउँसो बेवारिसे अवस्थामा राखिएको १२ बोर भरुवा एक नाले बन्दुक बरामद गरेको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका २२ बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडक खण्डको पूर्वपट्टी रहेको धान खेतमा उक्त बन्दुक फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले धान खेतमा प्लास्टिकको बोरामा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
बरामद गरिएको हातहतियारका सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।







