प्रथम पथलैया यु२० फूटवल प्रतियोगिता सुरु, सुन्दरबस्तीको विजयी सुरुवात


eShilalekh

२० श्रावण २०७९, शुक्रबार २१:१६

सिमराः प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगितामा सुन्दरबस्ती युथ क्लबले विजयी सुरुवात गरेको छ । युवा जागरण क्लब र दिब्यज्योती क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीतपुर युथ क्लबलाई ४-० ले पराजित गर्दै सुन्दरबस्तीले विजयी सुरुवात गरेको हो ।

सुन्दरबस्तीको जितमा आशिक तामाङले तीन र सबिन लामाले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सुन्दरबस्तीका आशिक तामाङ घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङले गरेका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता, पथलैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण लामा, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, वडासदस्य अमन लामा, फुसुमदेवी श्रेष्ठ, चित्रकुमारी बिक, राकेश सुब्बा, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास धौजु, विद्यालय ब्यवस्थापन समितिका सदस्य गौतमप्रसाद अधिकारी, मुनसाईन टेक्नोलोजीका रुवन थापालगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण भुवन थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा होली गार्डेन ईङलिस स्कुलका विद्यार्थीले पियोपी, खुकुरी ड्रिल, सलामी र एरोबिक प्रदर्शन गरेका थिए ।
भदौ ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष थापामगरले जानकारी दिए ।

प्रतियोगितामा बाराको १६ वटा क्लबको सहभागिता रहेको छ । आयोजक क्लबका अुनसार प्रतियोगितामा श्री कृष्ण युवा क्लब पथलैया, जीतपुर युवा क्लब, सिद्धबाबा युवा क्लब, हिमाल युवा क्लब निजगढ, कोसेली युवा क्लब, मंगोलियन युवा क्लब, न्यु योङ स्टार महेन्द्रनगर क्लब, न्यु जनजागृति युवा क्लब निजगढ, रामवन टाढी युथ क्लब, राईजिङ स्टार क्लब, बासबारी फूटवल क्लब, मनकामना फूटवल क्लब, अमलेखगंज युनाईटेड र राईजिङ सहारा युवा क्लबको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्