तेक्वान्दोमा मधेस प्रदेशलाई पहिलो स्वर्ण, पर्साका अख्तरले जिते पदक


eShilalekh

३० आश्विन २०७९, आईतवार २२:४६

सिमराः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दो खेलतर्फ मधेस प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पर्साका महमद सोहेब अख्तरले तेक्वान्दो खेलमा स्वर्ण पदक जितेका हुन् ।

५८ केजी तौल समूहको फाईनल भिडन्तमा नेपाल पुलिसका खेलाडीलाई पराजित गर्दै अख्तरले स्वर्ण जितेका हुन् । अख्तरले पुलिसका सुवासचन्द्र बोहरालाई पराजित गरेका हुन् ।

यसैगरी पर्साले ५४ केजी तौल समूहमा रजत पदक पनि हात पारेको छ । रजत जित्नेमा अफताफ आमल रहेका छन् । उनि फाईनल भिडन्तमा नेपाल पुलिसका सुमित विष्टसंग पराजित भएका थिए ।

विजेता र उपविजेता खेलाडीलाई ओलम्पियन दीपक विष्टले पदक वितरण गरेका थिए । पदक वितरण कार्यक्रममा मधेस प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव रञ्जितकुमार यादव, प्रदेशका खेलकुद प्रमुख जियाउल अंसारी, पर्साका टिम प्रशिक्षक नाजिर हुसेन, महिला टिम कोच हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामालगायत उपस्थित थिए ।

नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्