प्रिन्सिपलको कुर्सीमा बसेर विद्यार्थीले चलाए स्कुल..


eShilalekh

२२ कार्तिक २०७९, मंगलवार १०:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित न्यु एकता इङलिस बोर्डिङ स्कुल रचनात्मक गतिविधिमा सक्रिय छ । विद्यार्थीलाई सैन्दान्तिकसंगै व्यवहारिक शिक्षा दिनका विभिन्न गतिविधि गर्दै आएको एकताले आईतवार एक दिन विद्यालयको सम्पूर्ण व्यवस्थापन विद्यार्थीकै हातमा सुम्पियो ।

विद्यार्थीलाई पढाईसंगै अन्य विषयमा अब्बल बनाउने प्रयासस्वरुप एकता स्कुलको व्यवस्थापनले विद्यालयका ३० जना भन्दा बढी विद्यार्थीलाई एक दिन विद्यालय संचालन गर्न लगाएको हो । उक्त दिन विद्यालयका प्रिन्सिपल, व्यवस्थापन, प्रशासन, शिक्षकको भूमिकामा विद्यार्थी नै देखिए । उनिहरुले एक दिन व्यवस्थित ढंगले विद्यालय संचालन गरेका थिए ।

अन्य दिन विद्यालय पुग्ने वित्तिकै कक्षा कोठामा बस्ने विद्यार्थी समिप अधिकारी उक्त दिन भने प्रिसिन्पलको कार्यकक्षमा गए । उक्त कार्यकक्षमा पुगेर अधिकारी प्रिसिन्पलको कुर्सीमा बसे र विद्यालयको अध्ययन अध्यापनको अवस्थाका बारे निरीक्षण गरे ।
आफूले निर्वाह गर्दै आएको पदीय जिम्मेवारी विद्यार्थीलाई सुम्पिएका विद्यालयका प्रिसिन्पल मदन रिजाल भने उक्त दिन भूमिकाविहिन अवस्थामा थिए । उनले आफ्नो जिम्मेवारीमा बसेर आफ्नै विद्यार्थीले गरेको कार्यको अवलोकन गरेका थिए ।

रिजाल मात्र नभई उक्त दिन विद्यालयका सम्पूर्ण शिक्षक र कर्मचारी निष्क्रिय हुँदा विद्यार्थी सक्रिय थिए । विद्यालयको सम्पूर्ण जिम्मेवारी विद्यार्थीकै हातमा थियो । विद्यालयनै संचालन गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । विद्यार्थीहरुले नेतृत्वमा रहेर कार्यसम्पादनको अनुभव बटुलेका थिए ।

विद्यालयका प्रिन्सिपल रिजालले विद्यार्थीलाई अध्ययनसंगै अन्य गतिविधिमा पनि अब्बल बनाउनका लागि एक दिन सम्पूर्ण व्यवस्थापन उनिहरुको हातमा छोडिदिएको बताए । यस्तो रचनात्मक गतिविधिले विद्यार्थीलाई परिपक्व बनाउने र नेतृत्व गर्ने क्षमताको विकास हुँदै जाने रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्