डुमरवाना कपको दोस्रो संस्करण माघ ३ गतेदेखि हुने


eShilalekh

२६ पुष २०७९, मंगलवार २०:१७

सिमराः डुमरवाना कप फूटबल प्रतियोगिताको दोस्रो संस्करण माघ ३ गतेदेखि हुने भएको छ । जीतपुरसिमरा १५ स्थित भारती चोक खेल मैदानमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक जनमुखी युवा चारपाते क्लबले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा बाराको तीन, पर्साको चार, मकवानपुरको दुई, रौतहट, सर्लाही र महोत्तरीको एक-एक गरी १२ टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा आयोजक क्लबसहित बाराको सिमरा भेट्रान क्लब, त्रिशुल युवा क्लब बकुलिया, पर्साको पर्सागढी युवा स्पोर्टस् क्लब, वीरगन्ज युनाईटेड क्लब, वीरगन्ज सिटी फूटबल क्लब, वीरगन्ज युथ एकेडेमी, मकवानपुरको हेटौडा फूटबल एकेडेमी, मकवानपुर ११ क्लब, रौतहटको नेपाल खेलकुद क्लब, सर्लाहीको एभरेष्ट फूटबल क्लब र महोत्तरीको बर्दिबास एपिएफ क्लबको सहभागिता रहनेछ ।

माघ १४ गतेसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामेश्वर चौधरीले जानकारी दिएका छन् ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, जीतपुरसिमरा १३ का वडाध्यक्ष हेमनारायण चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाँउलेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्