झुपडीबाट उपराष्ट्रपति निवास


दिवाकर भण्डारी

३ चैत्र २०७९, शुक्रबार १७:२५

सिमराः बाराका रामसहाय यादव शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहेका यादव देशको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् ।

कलैया उपमहानगरपालिका ५ मा बस्दै आएका यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुन् । उनि मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

यसअघि २०७४ सालमा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै प्रतिनिधिसभामा सदस्यमा निर्वाचित यादव २०६४ सालमा समानुपातिक सूचिबाट संविधानसभामा प्रवेश गरेका थिए । २०७८ सालमा उनि वनमन्त्री समेत बने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री रहेका यादव पूर्णकालिन राजनीतिक जिवनको उतराद्र्धमा मुलुकको उपराष्ट्रपति बनेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विश्वासपात्रका रुपमा रहदै आएका यादव शिक्षण क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका थिए । साविकको कचोर्वा गाविस ८ बसवरियामा जन्मिएका उनले २०४८ सालदेखि शिक्षण पेशा सुरु गरेका हुन् । पन्नादेवी कन्या माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्नुअघिनै उनि राजनीतिसंग जोडिएका थिए ।

२०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको सद्भावना पार्टीसंग आवद्ध उनि शिक्षक मञ्चमा रहेर राजनीति सुरु गरेका हुन् । उनि पहिलो पटक सिंहले सुरु गरेको मधेस एकता रथ यात्रा अभियानमा सहभागी भएका थिए । त्यसयता उनि सद्भावना पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन थाले ।

यादव २०६४ सालदेखि सक्रिय राजनीतिमा होमिएका हुन् । सक्रिय राजनीतिमा होमिने क्रममा २०४८ साल असार ९ गतेदेखि सुरु गरेको शिक्षण पेशालाई उनले २०६४ साल फागुन १६ गते त्यागेका थिए ।

शिक्षण पेशामै रहेका बेला दुईपटकसम्म शिक्षा सेवा आयोगको मौखिक परीक्षामा असफल बनेका उनि २०६० सालमा नाम निकाल्न सफल भए तर त्यतिबेलासम्म उनि राजनीतिमा निकै अघि बढिसकेका थिए । २०६२÷६३ को जनआन्दोलन र २०६४ सालको मधेस आन्दोलनपछि उनले शिक्षण पेशामा भन्दा राजनीतिमा बढी रुची देखाए ।

शिक्षण पेशाबाट विदा लिनुअघि उनले २०६० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमका संस्थापक उपेन्द्र यादवसंग भारतको रक्सौलमा भेट गरेका थिए । उक्त भेटपछि उनि पूर्णकालिन राजनीतिमा सक्रिय रहने अठोट गर्दै अघि बढे ।

सद्भावना पार्टीको राजनीतिमा सक्रियता देखाएका कारण रामसहाय त्यसैबेला संस्थापक यादवको नजरमा परेका थिए । भूमिगत राजनीति गर्दै आएका संस्थापक यादवसंग रामसहायको भेट गराउने वातावरण बनाइयो । संस्थापक यादवका सहयोगीले रामसहायलाई रक्सौल लिएर गए । रामसहाय र उपेन्द्रबीच रक्सौलमा भेट भयो ।

उक्त भेटपश्चात रामसहायले उपेन्द्रको साथ छाडेका छैनन् । उक्त भेटमा मधेसी जनअधिकार फोरमलाई अघि बढाउने विषयमा छलफल भयो । यादवलाई भेटेर फर्किएपछि रामसहायले सेना र प्रहरीसंग लुकेर पार्टीको गतिविधिलाई अघि बढाए । उनले २०६० साल फागुन ७ गते बारामा मधेसी जनअधिकार फोरमको ९ सदस्यीय जिल्ला कार्यसमिति आफ्नै नेतृत्वमा गठन गरे ।

प्रहरी र सेनाबाट लुकेर जिल्ला कार्यसमिति बनाएका यादवले आफ्नो चन्द्रगुप्त राखे । जिल्ला कार्यसमिति गठन गरेको केही समयमै उनलाई संस्थापक यावले फोरमको केन्द्रीय सदस्य बनाए । त्यसपश्चात दुबैबीच भेटघाट बाक्लिदै गयो । उनिहरुबीच भारतको विभिन्न स्थानमा भेट हुने गरेको थियो ।

पटनामा बसेको फोरमको केन्द्रीय समिति बैठकले जनआन्दोलनमा सहभागी हुने निर्णय गरेपछि रामसहाय नेपालमा आएर आन्दोलनमा सहभागी बने । जनआन्दोलनपछि २०६३ सालमा फोरमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो र यादव अध्यक्ष चुनिए ।

त्यसैबेला उनलाई पर्सा जिल्लाको इन्चार्जको समेत जिम्मेवारी दिइयो । अन्तरिम संविधान जलाउने फोरमको निर्णयपछि उनि २०६३ साल माघ ३० गते वीरगन्जबाट पक्राउ परे । उनिसहित ९ जनालाई पक्राउ परेपछि मधेस आन्दोलन थप चर्कियो र केही दिनमै उनि रिहा भए ।

एक महिनापछि गौरमा फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भयो । २५ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि अध्यक्ष यादवले रामसहायलाई रौतहटको जिम्मेवारी सुम्पिए । रामसहायले रौतहटको जिम्मेवारी लिएर पार्टी गतिविधि अघि बढाए ।

मधेस आन्दोलनपछि २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट उनि समानुपातिक सूचिबाट संविधानसभा सदस्य चयन भए । २०६५ साल जेठ १९ गते सम्पन्न फोरमको केन्द्रीय कमिटी बैठकबाट उनि केन्द्रीय महासचिव चयन भए ।

अशोक राई नेतृत्वको संघीय समाजवादीसंग पार्टी एकता गर्दै बनेको संघीय समाजवादी फोरमको छैठौं अधिवेशनबाट पुनः यादव महासचिव बने । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसंग एकता हुँदा उनलाई पहिलो बरियताको महासचिवको जिम्मेवारी दिइयो । महन्थ ठाकुर नेतृत्वको राजपासंग पार्टी एकता गर्दै संघीय समाजवादी फोरमलाई जनता समाजवादी पार्टी (जसपा) मा रुपान्तरण गरियो ।
हाल उनि जसपाका संसदीय दलका नेता हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित भएपछि केन्द्रीय अध्यक्ष यादवले आफ्नो विश्वासपात्र रामसहायलाई संसदीय दलको नेता बनाएका हुन् । त्यससंगै जनता समाजवादी पार्टीको भागमा परेको उपराष्ट्रपति पदमा रामसहायलाई नै उम्मेदवारी बनाउने निर्णय अध्यक्ष यादवले गरे, जसअनुसार रामसहाय देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए ।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसंगै अध्यक्ष यादव बारा २ को उपनिर्वाचन लड्ने निश्चित भएको छ । अध्यक्ष यादव उपनिर्वाचन लडेर प्रतिनिधिसभामा प्रवेश गर्ने तयारीमा छन् ।

शिक्षण पेशा छोडेको १६ वर्षमा उपराष्ट्रपति

उपराष्ट्रपतिमा निर्वाचित यादव जिल्लामा अत्यन्तै सालिन नेताका रुपमा परिचित छन् । पत्नी र तीन सन्तानका पिता अहिले कलैया ५ स्थित गोरुबजार छेउमा रहेको घरमा बस्छन् ।

शिक्षण पेशा सुरु गरेपछि उनि जन्मस्थल कचोर्वाको बसवरिया छोडेर कलैया आएका थिए । कलैयामा किनेको १२ धुर जमिनमा सानो झुपडी र गोठ बनाए ।

आर्थिक जोहो गर्न गोठमा गाईबस्तु पाल्न सुरु गरे । गाईबस्तु पत्नी चम्पादेवी स्याहार्थिन भने यादव शिक्षण पेशामा व्यस्त हुन्थे । उनले टिउसन र कोचिङ पढाउन सुरु गरे । शिक्षण पेशाबाट आएका तलब खाद्यान्न र सन्तानको शिक्षामा खर्च हुन्थ्यो ।

२०६४ सालमा संविधानसभा सदस्य चयन भएपछि उनले आफ्नो तलब तिनै सन्तानको शिक्षाका लागि खर्चिए । हाल उनका तीन सन्तान शिक्षाका लागि काठमाडौंमा छन् । पत्नी चम्पादेवी गाइबस्तु रेखदेख र स्याहार गर्छिन् ।

उनि बारा आउदा त्यही गोठसंगै रहेको घरमा बस्छन् ।

प्रतिक्रिया दिनुहोस्