पचरौता नगरपालिकामा मंगलबारदेखि स्वास्थ्यसहितका अत्यावश्यक सेवा ठप्प हुने


eShilalekh

२५ असार २०८०, सोमबार २१:१२

सिमराः पचरौता नगरपालिकामा मंगलबारदेखि स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प हुने भएको छ । असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथी दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् । मिश्रले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।

नगरपालिकाको कार्यालयमा असार १० गते केही व्यक्तिहरुले कर्मचारीमाथी दुर्व्यवहार गरेको र कम्प्युटर तथा प्रिन्टर तोडफोड गरेको मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएपनि सुनुवाई नभएको आरोप मिश्रको छ ।

कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिएको मिश्रले जनाएका छन् । पचरौता नगरपालिकाका वडाध्यक्ष लक्ष्मी यादवले घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने प्रहरी सोमबार दिउँसो उल्टै नगरपालिकाको कार्यालयमा पुगेर कर्मचारीलाई अनावश्यक सोधपुछ र धम्क्याउने काम गरेपछि दैनिक प्रवाह हुने सेवा रोक्न बाध्य भएको बताएका छन् ।

‘कार्यालयमा प्रवेश गरेर केही व्यक्तिले कम्प्युटर, प्रिन्टर तोडफोड गर्दा समेत प्रहरीले कारवाही गर्न चासो देखाउदैन’ वडाध्यक्ष यादवले भने ‘उल्टै प्रहरी पठाएर कर्मचारीलाई तर्साउने काम गरेको छ । यस्तो अवस्थामा काम गर्न नसक्ने निष्कर्षमा कर्मचारी पुगेपछि सेवा बन्द गरिएको हो । ’

यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नगरपालिकाको कार्यालयमा कर्मचारीमाथी दुर्व्यवहार र तोडफोड भएको घटनाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको भन्दै प्रहरी उपरीक्षक बोगटीले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न प्रहरी पछि नहट्ने बताए ।

प्रहरी उपरीक्षक बोगटीले एक कार्यक्रममा सहभागी हुने क्रममा प्रहरी नगरपालिकाको कार्यालय पुगेको तर विज्ञप्तिमा उल्लेख भएजस्तो कर्मचारीमाथी धाक धम्की नदिएको बताए । ‘कुनै कार्यक्रममा सहभागी हुने क्रममा नगरपालिकाको कार्यालयमा प्रहरी पुगेको भन्ने जानकारी मैले पाए’ बोगटीले भने ‘तर त्यहाँ कर्मचारीलाई धम्क्याउने काम प्रहरीले गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्