एनआरएनए साउदी अरबको अध्यक्षमा अर्यालको एकल उम्मेदवारी


eShilalekh

३ श्रावण २०८०, बुधबार २१:३४

सिमराः गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदी अरबले महिला नेतृत्व प्राप्त गर्ने भएको छ । संघको नवौं अधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियामा हालको बरिष्ठ उपाध्यक्ष रविना अर्यालको एकल उम्मेदवारी परेको छ ।

अर्यालको एकल उम्मेदवारी परेसंगै आगामी अध्यक्षमा उनि निर्वाचित हुने निश्चित भएको छ । आगामी २८ जुलाई रियादमा हुन लागेको अधिवेशनबाट नयाँ नेतृत्वमा सर्वसम्मत् चयन गर्न लागिएको छ ।

बरिष्ठ उपाध्यक्षबाहेक कार्यसमितिको अन्य पदमा निर्विरोध नेतृत्व चयन हुने देखिएको छ । बरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको र अन्य पद निर्विरोध हुने भएको निर्वाचन संयोजक राजेन्द्र अर्याललाई उद्धृत गर्दै बाराका संजोग पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार बरिष्ठ उपाध्यक्ष पदमा उमेश भट्टराई र विशालकुमार श्रेष्ठको उम्मेदवार परेको छ । बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुँदा अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध चयन हुनेछन् ।

नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा चार उपाध्यक्ष पदमा राजकुमार गिरी, कृष्णकुमार श्रेष्ठ, मनिष कोईराला र हेम सुवेदीको उम्मेदवारी परेको छ ।

यसैगरी महासचिवमा शुक्र तामाङ, सविचमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गाबहादुर काउचाले उम्मेदवारी दिएका छन् । चारै पदमा एकल उम्मेदवारी परेकाले सबै पद निर्विरोध हुने भएको छ ।

कार्यसमितिको सदस्यमा पदमबहादुर महत, दीपक ढुंगाना, देवीबहादुर कार्की, युवराज पोखरेल, धर्मेन्द्र कार्की, अमृतबहादुर तामाङ र ओमप्रकाश काफ्लेको उम्मेदवारी परेको छ । यस्तै युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापामगर, आइसीसी सदस्यमा रामबहादुर क्षेत्री र दीपक रेग्मीले उम्मेदवारी दिएका छन् ।

साउदी अरबमा सन् २००७ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्