आठ सुत्रीय माग राख्दै एमाले बाराद्धारा सरकारलाई ज्ञापन


eShilalekh

२३ श्रावण २०८०, मंगलवार २०:३४

सिमराः नेकपा एमाले बाराले आम नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न आठ सुत्रीय माग राख्दै मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बारामार्फत एमाले जिल्ला कमिटी बाराले सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा एमाले बाराले कृषी, स्वास्थ्य र शान्तिसुरक्षाको विषय अघि सारेको छ । ज्ञापनपत्रमार्फत एमालेले कृषीजन्य उत्पादन बिक्री गर्नका लागि केन्द्र, किसानलाई निःशुल्क कृषी मिटर, समयमै मलखाद, उखु किसान र सुख्खाबाट प्रभावित किसानलाई राहत, लम्पी स्किनबाट पशुचौपायाको क्षति व्यहोर्नुपरेका किसानलाई क्षतिपूर्ति, आँखा पाक्ने रोग नियन्त्रण गर्न विशेष कार्यक्रम र जिल्लामा शान्तिसुरक्षा सुदृढ गर्न माग गरिएको छ ।

लम्पी स्किन रोगका कारण किसानले ठुलो क्षति व्यहोर्नुपरेको, सिचाई अभाव र सुख्खायामका कारण खेती गर्न समस्या भएको, दुध, दही, तरकारी, माछा, फलफूललगायत कृषीजन्य उत्पादन बिक्री वितरणका लागि केन्द्रको अभाव हुँदा किसान पीडित हुनुपरेको, मलखादको अभाव झेल्नुपरेको, आँखा पाक्ने रोगको प्रकोप बढिरहेपनि नियन्त्रणका लागि पहल नभएको उल्लेख गर्दै एमाले बाराले आम नागरिकसंग सरोकार राख्ने विषयलाई तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेको छ ।

एमाले बाराका सचिव अध्यानन्द पाण्डेको नेतृत्वमा ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य महम्मद समीर, बलबीर चौधरी, एकवाल मियाँ, प्रदेश कमिटी सदस्य मनोज पौडेल, उमेश गुप्ता, जिल्ला कमिटी उपसचिव भुलन चौधरी, जिल्ला कमिटी सदस्य एवम् जीतपुरसिमरा ३ का वडाध्यक्ष ताराबहादुर कार्की, अमृतलाल श्रेष्ठ, पुरुषोत्तम साह, शर्मा बैठा, रमेश चौधरीलगायतको उपस्थिती रहेको थियो ।

मधेसको आठ वटै जिल्लाबाट सरकारलाई ज्ञापन

मधेस प्रदेश अन्तर्गत नेकपा एमालेको आठ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । एमाले केन्द्रीय सचिव एवम् मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जिल्ला कमिटीले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्