रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका- ८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट एक दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरी रहेकी छन्।
सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३-००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले बुधवार बिहान चौधरीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना लगत्तै दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको छ।







