जीतपुरसिमरा ३ मा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउँदै, के हो स्वास्थ्य बीमा?


eShilalekh

१९ आश्विन २०८०, शुक्रबार २१:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा कर्मचारी अभावमा रोकिएको स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत खटिएका कर्मचारीले राजीनामा दिएका कारण रोकिएको बीमा कार्यक्रम असोज २३ गतेदेखि सुरु हुने भएको हो ।

वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले असोज २३ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने सूचना जारी गरेका छन् । स्वास्थ्य बीमाका लागि दर्ता सहयोगी गीता खत्रीलाई सम्पर्क गरेर बीमा गराउन समेत आग्रह गरेका छन् ।

के हो स्वास्थ्य बीमा कार्यक्रम ?

स्वास्थ्य बीमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने बृहत लोककल्याणकारी अवधारणा हो । यसले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक कार्यक्रम हो । यसमा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ ।

यस कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम व्यवस्थापन गरिएको हुन्छ । यसले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत गर्दछ ।

कसरी गरिन्छ बीमा ? कस्तो छ सुविधा ?

यस्तो छ स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता र यसबाट प्राप्त हुने सुविधा योजना:

५ जनासम्मको सदस्य रहेका साधारण परिवारले योगदान रकम रु ३५०० बुझाउनु पर्नेछ जसले प्रति परिवार प्रति वर्ष रु १ लाख सम्मको सेवा प्राप्त गर्नेछ । ५ जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु ७०० योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप २० हजार रुपैयाँका दरले थपिदै प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँ सम्मको सेवा पाईनेछ ।

जस्तै कुनै परिवारमा ७ जना सदस्य छन उक्त परिवारले योगदान रकम चार हजार नौ सय ९९ रुपैया बुझाएमा एक लाख ४० हजार बराबरको स्वास्थ्य बीमा योजना पाउनेछन् । यसबाहेक नियमित सेवा बाहेक नेपाल सरकारले तोकेको घातक रोग विमित्तलाई लागेमा थप एक लाख सम्मको उपचार सुविधा विमित्तले पाउनेछन ।

तर थप एक लाख नियमित पाउने सुविधा सकिएमा मात्र पाईनेछ । थप एक लाख सम्मको उपचार सुविधा पाउने रोगहरु क्यान्सर, मुटुरोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रहेका छन् ।

अति विपन्न, ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गता (क वर्गको रातो कार्ड प्राप्त), कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटील खालका क्षयरोग (एम.डी.र.टि.वि.) बिरामी भएका परिवारको योगदान वापतको शतप्रतिशत रकम सरकारले तिरिदिने व्यवस्था छ । महिला स्वास्थ्य स्वयंसेविका भएको परिवारको योगदान रकमको पचास प्रतिशत छुट हुनेछ ।

बीमा कार्यक्रममा पाइने सेवाहरु:

स्वास्थ्य बीमा गर्ने जो कोही विमित्तले तोकिएको कुनै पनि सेवा प्रदायक अस्पतालबाट बहिरङ्ग अर्थात ओ.पी.डी सेवा, आकस्मिक, अन्तरङ्ग सेवा पाउनेछन् । अस्पताल भर्ना भएर लिनुपर्ने सेवामा क्याबिनको सुविधा उपलब्ध हुने छैन । यस्तै एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई., सिटी स्क्यान, रगतको जाँच, साना–ठूला शल्यक्रियाहरू र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेतो छडी, बैशाखी लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन् । तर गम्भीर चोटपटकका लागि गरिने उपचार, ओठ, तालु, काटिएकोमा गरिने सर्जरी बाहेकको प्लाष्टिक तथा कस्मेटिक सर्जरी आदि भने निःशुल्क हुने छैन ।

स्वास्थ्य बीमा कार्यक्रममा सुविधा कसरी लिन सकिन्छ ?

स्वास्थ्य बीमा कार्यक्रमामा सुरुमा बीमालेख भर्ने बेलामा स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु भनेर तोकिएका सेवा प्रदायक एउटा मात्र छनौट गर्नु पर्नेछ । विमितले अस्वस्थ हुदाँ प्रथम सेवा विन्दुका रुपमा छनौट गरेको सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनु पर्नेछ ।

बिरामीलाई प्रथम सेवा विन्दु बाट आवश्यक स्वास्थ्य उपचार गराउन नसक्ने भएमा प्रेषण पूर्जी भरि स्वास्थ्य बीमा बोर्डले रिर्फलर केन्द्र भनि तोकिएका अस्पतालमा बिरामीलाई रिफर गरि विमित्तले स्वास्थ्य सेवा लिनु पर्नेछ । इमेरजेन्सी अवस्थाका बिरामीलाई रिर्फलर केन्द्र भनि तोकिएका अस्पतालहरुबाट पनि सिधै स्वास्थ्य सेवा लिन पाईनेछ ।

स्वास्थ्य बीमा गरेपछि रहने अवधि र नविकरण गर्ने समय

विमित्त परिवारले सेवा प्रदायक वा अस्पतालबाट निरन्तर सेवा लिनका लागि हरेक वर्ष बीमा नवीकरण गर्नुपर्दछ । यसका लागि सुरुमा जुन चक्रमा दर्ता भएको हो, सोही चक्रमा नवीकरण गर्नुपर्ने हुन्छ । बीमा सदस्यता दर्ता गरिसकेपछि सेवा पाउनका लागि निश्चित चक्र पार गर्नुपर्छ ।

सेवा नलिएमा योगदान रकम र प्राप्त हुने सुविधा फिर्ता र जम्मा हुन्छ त ?

परिवारको सामूहिक स्वास्थ्य सुरक्षाका लागि तिरिएको योगदान रकम सेवा नलिए पनि फिर्ता हुँदैन र प्राप्त हुने सुविधा विमित्तले सबै नलिएमा बाँकी सेवा सुविधा जम्मा पनि हुदैन ।

प्रतिक्रिया दिनुहोस्