डुमरवानामा कुमारी बैंकको एटिएम फोडियो, पैसा सुरक्षित


eShilalekh

१० मंसिर २०८०, आईतवार १२:२१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानामा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेर शनिवार राती पैसा चोरी गर्ने प्रयास भएको छ । चोरले एटिएम मेसिन फोडेपनि भल्ट नखुलेका कारण पैसा भने चोरी हुन पाएन ।

सटर फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोड्दै पैसा चोरी गर्ने प्रयास गरेका थिए । तर भल्ट फुटाउन नसकेका कारण पैसा सुरक्षित रहेको बताइएको छ । घटनापछि बैंकले प्रहरीको उपस्थितीमा एटिएम मेसिन भित्र रहेको पैसा जाँच गर्ने तयारी गरिरहेको छ ।

बैंकका शाखा प्रवन्धक पंकजकुमार उपाध्यायले एटिएम मेसिनको अवस्था हेर्दा पैसा चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा ‘भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी दिए । उपाध्यायले एटिएममा कति पैसा थियो भन्ने खुलाउन चाहेनन् ।

बैंकमा रहेका सुरक्षागार्डले आइतबार बिहान करिब ३ः३० बजे एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए । सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेका थिए ।

बैंकका अनुसार राती १ः५० बजेदेखि सिसिटिभी क्यामरा बन्द अवस्थामा छ । सटर फोडेलगत्तै क्यामरा फुटाएर चोरले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एटिएम मेसिन फोड्नेको खोजी भईरहेको बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्