सीमामा सशस्त्रका आइजिपि : जवान भेट्दै, हौसला बढाउँदै


eShilalekh

१३ असार २०७८, आईतवार ०२:३६

बारा : नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी जवानको हौसला बढाउन सशस्त्र प्रहरी बलका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक (आइजिपि) शैलेन्द्र खनाल अहिले प्रदेश २ मा छन्। बढ्दो कोरोना संक्रमणकाबीच सीमा क्षेत्रमा काम गर्ने सशस्त्र प्रहरी जवानको मनोबल उच्च बनाउने उदेश्य लिएर आइजिपि खनाल प्रदेश २ मा आएका हुन्।

सप्तरीबाट भेटघाट थालेका खनालले बुधबार चौथो दिन बाराको विभिन्न नाकामा पुगेर जवानसँग भेट गरे। सशस्त्र प्रहरी नायब उपरिक्षक डा. रोशन झाको चिकित्सक टोलिसहित आएका खनालले सीमा क्षेत्रमा काम गर्ने प्रहरीलाई भेटेर कोरोनाको कारण आफ्नो हौसला नघटाउन र यस्तो परिस्थतीमा थप जिम्मेवार भएका काम गर्ने निर्देशन दिए। ‘कोरोनाका कारण तपाइँहरु नडराउनुस, तपाइँहरुको जिम्मा म लिनेछु, केही पनि हुन दिन्न’ खनालले जवानसँगको भेटमा खनालले भने ‘ढुक्क भएर ईमान्दारिताका साथ काम गर्नुस्। राम्रो काम गर्नुभएको छ, अझै राम्रो गर्नुहोला।’कोरोनाको समयमा संवेदनशील र जोखिम क्षेत्रमा बसेर सशस्त्र प्रहरीले गरेको कामको देशभर प्रशंसा भईरहेको भन्दै खनालले देश र जनताको अहितमा कुनै पनि गतिविधिलाई हुन नदिन निर्देशन दिए। ‘तपाइँहरु यहा हुनुहुन्छ जसका कारण जनताले सुरक्षित महसुस गरिरहेका छन्’ जवानसँग खनालले भने ‘तपाइँ र संगठनमाथी जनताको विश्वास टुटन दिनुहुने छैन भन्नेमा म ढुक्छ छु। ’

खनालले सीमा क्षेत्रमा काम गर्ने जवानलाई माक्स, पिपिई, थर्मोमिटरसहित स्वास्थ्य र सरसफाईका सामाग्री समेत हस्तान्तरण गरेका छन्। खनालसहित आएका डा. झाले कोरोनाबाट बच्न सकिने रोकथामको विषयमा जानकारी गराएका थिए। बाराको सशस्त्र प्रहरी बल नम्बर १२ गण पुगेर जवानसँग भेट गरेका खनाल बरियारपुरस्थित सुरक्षा बेस र गोलागंजमा रहेको सशस्त्र प्रहरीको बिओपी हुँदै रौतहटतर्फ गएका थिए।

महानिरिक्षक खनालले प्रदेश २ मा कार्यरत सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण बढिरहेको र जसका कारण खस्किएको मनोबलले सुरक्षामा असर नपरोस भनेर आफू आएको बताए। प्रदेशका अन्य पाँच जिल्ला पुगेर बारा आएका खनालले सीमाको रक्षा, तस्करी र अपराध नियन्त्रणसहित कोरोनाको महामारी रोकथामका निम्ति सिमित स्रोतसाधनकाबीच प्रशंसनीय काम गरेको अवस्था आफूले पाएको खनालले बताए। ‘उहाँहरुको अभिभावक भएकाले यस्तो समयमा केही समय बिताउन र उर्जा थप्न आएको थिएँ’ खनालले भने ‘कठिन अवस्थामा पनि बसेर काम गर्नुभएको छ। अत्यन्तै प्रशंसनीय काम भएका छन्। केही कमी कमजोरी सुधारेर पनि लग्नुपर्छ।’

महानिरिक्षक खनालको बारा भ्रमणका क्रममा प्रदेश २ का डिआईजी कृष्णभक्त बम्ह्राचार्य, १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजित, सशस्त्र प्रहरी बल पिलुवास्थित गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मनोज थापा, पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्कालगायत सहभागी थिए। यसअघि प्रदेश भ्रमणका क्रममा महानिरिक्षक खनालले मुख्यमन्त्री लालबाबु राउतसँग समेत भेट गरेका थिए। भेटका क्रममा प्रदेशको सुरक्षा र सीमाको विषयमा छलफल भएको खनालले बताए। बारामा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी उपरिक्षक कृष्ण पंगेनीसँग समेत खनालले भेट गरी सीमा र सुरक्षा अवस्थाको विषयमा जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस्