पथलैया सामुदायिक वनको अध्यक्षमा लामा निर्वाचित, कार्यसमितिमा मिश्रित नतिजा


eShilalekh

२५ पुष २०७८, आईतवार १०:१२

सिमरा: पथलैया सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा नारायणबहादुर लामा निर्वाचित भएका छन् । पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शनिवार सम्पन्न मतदान प्रक्रियाबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् ।

लामाले अध्यक्षका अर्का प्रत्यासी सुकमान घलानलाई १६ मतले पराजित गरेका छन् । लामाले एक सय ५५ मत प्राप्त गर्दा घलानले एक सय ३९ मत प्राप्त गरे । लामा र घलानले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन प्रक्रियामा सहभागी थिए ।

लामा नेकपा एमाले र घलान नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका हुन् । अध्यक्षमा लामा निर्वाचित हुदा कार्यसमितिको अन्य पदको नतिजा भने मिश्रित आएको छ । ११ सदस्यीय कार्यसमितिमा लामाको प्यानलबाट पाँच र घलानको प्यानलबाट ६ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

लामाको प्यानलबाट कोषाध्यक्ष लक्ष्मीकुमारी भट्टराई, सदस्य डिल्लीबहादुर थापा, केशर आचार्य र पार्वती राई निर्वाचित भएका छन् । यसैगरी अध्यक्षमा पराजित घलानको प्यानलबाट उपाध्यक्षमा भिमबहादुर मगर, सचिव तोयानाथ खनाल, सहसचिव प्रविण राईसहित अन्य तीन सदस्य निर्वाचित भए ।

उपाध्यक्षमा घलान समुहका मगरले एक सय ४६ मत प्राप्त गर्दा लामा समुहका उम्मेदवार बद्री कार्कीले एक सय ४३ मत प्राप्त गरे । यसैगरी सचिवमा निर्वाचित खनालले एक सय ५० मत प्राप्त गरे भने अर्का उम्मेदवार लाक्पा शेर्पाले एक सय ४१ मत पाए । कोषाध्यक्ष पदमा घलान समुहका प्रविण राईले एक सय ४६ मत प्राप्त गर्दै विजयी हुदा अर्का उम्मेदवार खड्ग राज तामाङ (शशी) ले एक सय ४२ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा निर्वाचित भट्टराईले एक सय ४६ प्राप्त गर्दा पार्वती फुन्जेलले एक सय ४४ मत प्राप्त गरिन् ।

घलान प्यानबाट सदस्यमा पासाङ लामा, मानबहादुर लामा र सरस्वती कंडेल निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य मदन कंसकारले जानकारी दिए । तीन सय १५ मतदाता रहेको वन उपभोक्ता समुहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्