स्थापना दिवसको अवसरमा नेजाद्वारा रक्तदान कार्यक्रम


eShilalekh

१० बैशाख २०८१, सोमबार १६:१४

अमेरिकाः नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । टेक्ससको युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र पशुपतिनाथको मन्दिर परिसरमा आयोजित कार्यक्रममा ३६ जनाले रगत दान गरेका छन् ।

सन् २००७ मा स्थापना गरिएको नेजाले ब्लड डोनर्स अफ अमेरिकासंगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईं, युवा संयोजक आकाश अधिकारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्ससका अध्यक्ष अजय बगाले, एनआरएनए टेक्सस च्याप्टरका पूर्व कोषाध्यक्ष दिलिपकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीले नेजाले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । स्थापना दिवसको अवसरमा अर्भिङ्स्थित जेफरसन पार्कमा वृक्षरोपण र भर्चुअल रुपमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रमको सहजीकरण नेजाका महासचिव बाबुराम दहालले गरेका थिए ।

अमेरिकाबाट रामप्रसाद अधिकारीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्