साकेला उभौली पर्वको अवसरमा अमेरिकाको टेक्ससमा विभिन्न कार्यक्रमको आयोजना


eShilalekh

२४ जेष्ठ २०८१, बिहीबार १७:३१

रामप्रसाद अधिकारी

(ड्यालस) टेक्ससः साकेला उभौली २०८१ येले सम्वत् ५०८४ पर्वको अवसरमा किरात राई सोसाइटी अफ अमेरिका टेक्सस च्याप्टरले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । पर्वको अवसरमा सोसाइटीले ड्यालस टेक्सासको आर्लिङटनस्थित रिभर लिगेसी पार्कमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा साकेला थानमा भूमि पूजा गर्नुका साथै सांस्कृतिक नृत्यलगायत विभिन्न कार्यक्रम गरिएको थियो । कार्यक्रममा केआरएसएका टेक्सास च्याप्टरका उपाध्यक्ष प्रदिप राई, चमा राई केआरएसएका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, वरिष्ठ उपाध्यक्ष भारती राई र केन्द्रीय सल्लाहकार चन्द्रकुमार राई र केआरएसए टेक्सास च्याप्टरका अध्यक्ष दिलिप राईले उभौली पर्वको अवसरमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा किराती कलाकारले आफ्नो संस्कृति झल्कने भेषभुषासहित ढोल, झ्याम्टा, खैजेडी बजाएर साकेला सिली नाच प्रस्तुत गरेका थिए । भूमि पूजापछि आफ्ना देवीदेउतालाई खुशी पान साकेला सिली नाच नाच्ने परम्परा रहेको छ ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, तामाङ समाज टेक्ससका अध्यक्ष सूर्य तामाङ, याक्थुङ चुम्लुङ टेक्ससका अध्यक्ष भूपेन्द्र योङ्या, एनआरएनए टेक्ससका अध्यक्ष दीपेन्द्र गुरागाईंलगायत अन्य व्यवसायी र पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन केआरएसएका टेक्सस च्याप्टरका सहसचिव ज्योतिराज राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्