सिमरामा एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सुरु


eShilalekh

२८ जेष्ठ २०८१, सोमबार १९:०५

सिमराः फूटवल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित बाराको सिमरामा सोमबारदेखि ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ सुरु भएको छ । बारा जिल्ला फूटवल संघको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा १२ दिने कोर्ष सुरु भएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा सुरु भएको कोर्षमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक गरी २४ जना सहभागी छन् । उनिहरुलाई नेपालका लागि एशीयाली फूटवल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेशन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

सिंहको उपस्थितीमा सुरु भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ । बारा जिल्ला फूटबल संघको अनुरोधपछि सिंहको पहलमा प्रशिक्षण कार्यक्रम तय भएको हो । पहिलो चरणमा सात र दोस्रो चरणमा पाँच गरी १२ दिनसम्म संचालन हुने कोर्षपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उतिर्ण गर्नुपर्नेछ । उतिर्ण भएकाले मात्रै एएफसीबाट मान्यताप्राप्त सी वर्गको फूटवल प्रशिक्षकको लाइसेन्स पाउनेछन् ।

नेपालका विभिन्न स्थानमा कोर्षको आयोजना गरिसकेका सिंहले मधेस प्रदेशमै पहिलो पटक सिमरामा कोर्ष सुरु गरेका हुन् । उक्त कोर्षले फूटवल क्षेत्रको विकासमा दक्ष जनशक्ति उत्पादन हुनेमा आफूहरु विश्वस्त रहेको जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामाले बताए ।

विद्यालय तहबाटै फूटवलमा रुची राख्ने साना विद्यार्थीको संख्या बढ्दो अवस्थामा रहेपनि प्रशिक्षण दिने दक्ष जनशक्ति अभाव महसुस भएका कारण कोर्षको आयोजना गरिएको लामाको भनाई छ । कोर्षबाट उत्पादन भएको जनशक्तिले बारा जिल्ला मात्र नभई मधेस प्रदेशमै फूटवलको विकासका लागि ठुलो योगदान गर्न सक्ने र कोर्षबाट लाइसेन्स प्राप्त गरेकाहरुले प्रशिक्षकको भूमिकामा रोजगार हुने अवसर समेत प्राप्त गर्ने लामाले इशिलालेखलाई बताए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास महाशाखाका प्रमुख शिवजी प्रसादले गरेका थिए । उद्घाटन समारोहमा मधेस प्रदेशका महासचिव दीपक साह, जिल्ला फूटबल संघका महासचिव रामकृष्ण श्रेष्ठ, नव जनजागृति युवा क्लबका उपाध्यक्ष शंकर थापा, राजदास श्रेष्ठलगायत उपस्थित थिए । उद्घाटन समारोहको सहजीकरण महासचिव शम्भुसिंह ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्