आँखा अस्पतालको केन्द्र बारामा


eShilalekh

१३ असार २०७८, आईतवार ०३:०४

सिमरा : लामो समयदेखि काठमाडौंको त्रिपुरेश्वरबाट सेवा प्रदान गरिरहेको नेपाल आँखा अस्पतालले बारामा पहिलो सेवा केन्द्र विस्तार गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित औराहमा अस्पतालले बिहीबारदेखि उपचार केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो।

सेवा केन्द्रको उद्घाटन गर्दै प्रदेशसभा सदस्य विश्वकर्माले आँगनमै स्थापना भएको अस्पतालबाट आँखाको उपचार सेवालाई सुलभ बनाउन महत्वपूर्ण सहयोग हुने बताए। उपचार केन्द्र सुरु गरेको अस्पतालले सिमरामा आधुनिक अस्पताल र रिसर्च सेन्टर बनाउने लक्ष्य लिएको छ। अस्पताल निर्माण गर्न लागि आवश्यक जग्गा स्थानीय समाजसेवी कासिम मिँयाले उपलब्ध गराएका छन्।

जग्गा प्राप्तिसँगै काठमाडौं केन्द्रित सेवा जिल्लामा विस्तार गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले बताए। केन्द्रबाटै पनि सबै किसिमको उपचार गर्न सकिने उनले बताए। तत्काल घर भाडामा लिएर केन्द्रले सेवा सुरु गरेको छ।

मियाले दिए तीन करोडको जग्गा

नेपाल आखा अस्पतालको भवन निर्माणका लागि मिँयाले तीन करोड मूल्य बराबरको पाँच कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन्। ‘बारामा आँखा अस्पतालको आवश्यकता महसुस गरिरहेका थियौं, सेवा सुरु गर्ने सोँच पनि थियो,’ कार्यकारी अधिकृत घलेले भने, ‘स्थानीय दाता (मिँया)ले जग्गा उपलब्ध गराएपछि हामीले तत्काल सेवा सुरु गर्ने र पछि अस्पताल निर्माण गर्ने लक्ष्य राखेका छौं।’

मिँयाले उलपब्ध गराएको जग्गामा करिब १५ करोडको लागतमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने घलेको भनाइ छ। आफ्ना बुवा छिनारी मिँया र स्वर्गीय आमा फतमा खातुनको नाममा आँखा अस्पताललाई जग्गा उपलब्ध गराएको मिँयाले बताए। आँखाको समस्या भएका बुवालाई उपचार गराउन विभिन्न ठाउमा धाउनुपरेको पीडा सुनाउदै मिँयाले, ‘यहीँ अस्पताल हुन्थ्यो भने मैले बुवाको लागि त्यति दुःख पाउनुपर्थेन। अरुले त्यस्तो दुःख पाउनु नपरोस भनेर जग्गा दिएको हुँ।’

प्रतिक्रिया दिनुहोस्