प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन जेठ तेस्रो साता


रामप्रसाद अधिकारी

६ जेष्ठ २०८२, मंगलवार २२:१२

अमेरिकाः प्रवासी नेपाली मञ्च, अमेरिका (ओभरसिज नेपाली फोरम) ले चौथो राष्ट्रिय अधिवेशनको सन्दर्भमा भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता तथा सचिव छवि पाण्डेको सहजीकरणमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा संस्थाको विगत, वर्तमान र आगामी योजनाहरूको समग्र चित्र प्रस्तुत गरिएको थियो । मञ्चले प्रवासी नेपाली समुदायको हित, अधिकार र सहभागिता सुदृढ बनाउने दिशामा काम गरिरहेको बताइएको थियो ।

अमेरिकी कानुनअनुसार सामाजिक संस्था रूपमा सन् २०१२ मा दर्ता भएको मञ्चको प्रारम्भिक रूप सन् १९९८ मा एटलान्टामा नेशनल डेमोक्रेटिक फोरमको रूपमा आरम्भ भएको थियो । त्यही प्रयत्न, विस्तार र समर्पणले आज प्रवासी नेपालीहरूको साझा आवाज बन्न सफल संस्था स्थापित भएको बताइएको छ ।

संस्था स्थापनाको मूल उद्देश्य अमेरिकी भूमिमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई संगठित गर्दै आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आत्मसम्मान अभिवृद्धि गर्नु रहेको मञ्चद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको चौथो अधिवेशन जेठ १७ र १८ गते (मे ३१ र जुन १ तारिख) का दिन अमेरिकाको टेक्सासमा हुनेछ । अधिवेशनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय समिति अध्यक्ष संजय थापाले गर्ने कार्यक्रम रहेको छ ।

सचिव पाण्डेका अनुसार अधिवेशनको पहिलो दिन उद्घाटन सत्रसहित कार्यपत्र प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ । दोस्रो दिन संस्थाको सांगठनिक प्रगति प्रतिवेदन, आर्थिक लेखा परीक्षण र अघिल्लो अधिवेशनको समिक्षा, नयाँ नेतृत्व चयन तथा आगामी कार्ययोजना तय गरिने पाण्डेले जानकारी दिए ।

मञ्चका अध्यक्ष लामिछानेले २०२५ अप्रिल १५ सम्म आठ सय ६३ जना सदस्यले आफ्नो सदस्यता नवीकरण गरिसकेको बताए । उनका अनुसार सबैभन्दा बढी सदस्य संख्या टेक्सास राज्यमा रहेका छन् ।

भर्चुअल पत्रकार सम्मेलनमा नेजाका अध्यक्ष सुरज भण्डारी, सचिव शंकर थापा, रामचन्द्र भट्ट, बाबुराम दाहाल, अर्जुन प्रधानलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्