नेपालमा बाल स्वास्थ्य प्रवर्द्धनका लागि एनआरएनए एनसीसी अमेरिकाद्वारा पाँच हजार डलर सहयोग


रामप्रसाद अधिकारी

२८ जेष्ठ २०८२, बुधबार ०९:२७

अमेरिका: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले नेपालमा बाल स्वास्थ्य प्रवर्द्धनका लागि पाँच हजार अमेरिकी डलर सहयोग गरेको छ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा निर्माणाधीन बाल अस्पताल स्थापनाका लागि उक्त रकम सहयोग गरिएको हो ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाले `नेपालका बालबालिकाका लागि अस्पताल निर्माण´ शिर्षकमा प्रदान गरिएको सहयोगले बाल स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालभरका बालबालिकालाई गुणस्तरीय, सुलभ र समावेशी स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ। संस्थाले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई लक्षित गर्दै सेवा विस्तार गरिरहेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेत्र पाण्डे, कोषाध्यक्ष सरोज सिग्देल, टेक्सास च्याप्टर अध्यक्ष दीपेन्द्र गुरागाईं तथा सदस्य राजेश अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्रवासी नेपालीहरूले मातृभूमिप्रति देखाएको सामाजिक उत्तरदायित्व र योगदानको उच्च प्रशंसा गर्दै यस्ता सहयोगले नेपालका बालबालिकाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष उप्रेतीले आगामी दिनहरूमा पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले यस्ता मानवीय तथा विकासमुखी कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्