रौतहटले उचाल्यो जीतपुरसिमरा क्रिकेट कपको उपाधि

सिमराः दोस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि गरुडा नगरपालिका रौतहटले उचालेको छ । सिमरामा शनिबार सम्पन्न फाइनल खेलमा बारा जिल्ला क्रिकेट संघलाई एक विकेटले पराजित गर्दै रौतहटले उपाधि उचालेको हो ।
सेज क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाराले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । हालै सम्पन्न मधेश प्रदेश लिगको विजेता रहेको बाराका लागि निकेश गुप्ताले सर्वाधिक २७ रन बनाए । यसैगरी ओपनर निरजकुमार यादवले २६, त्रितराज दासले २२, कप्तान अरनिको यादवले १८ रन बनाए ।
बाराका अन्य ब्याटर फाइनल खेलमा चल्न सकेनन् । रौतहटका बलर सन्नी साह र राहुल गुप्ताले समान ३/३ विकेट लिए भने नितेश यादवले दुई विकेट हात पारे ।

बाराले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको रौतहटले अन्तिम ओभरमा जित हात पारेको हो । रौतहटले १९.२ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो । रौतहटका लागि सोबेन्द्र पासवानले उत्कृष्ट पाली खेल्दै टिमलाई जित दिलाए । सोबेन्द्रले ३८ रन बनाए ।
यसैगरी ओपनर नितेश यादवले ३५ र शैलेन्द्र कुशवाहाले २२ रन बनाए । रौतहटका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसकेपनि तेस्रो विकेटपछि आएका सोबेन्द्रले टिमका लागि बिजयी पाली खेलेका हुन् ।
बाराका आदिल अंसारी र निखिल सिंहले समान ३/३ विकेट लिए । यसैगरी भुलावन सहनी र जितेन्द्र यादवले १/१ विकेट हात पारे ।

प्रतियोगिताको उपाधि विजेता रौतहटले एक लाख नगद प्राप्त गरेको छ भने बाराले ५० हजार पाएको छ । प्रतियोगिताको प्लेयर अफ दि सिरिज र उत्कृष्ट ब्याटरको उपाधि रौतहटका नितेश यादवले पाएका छन् । उनले १५ हजार नगद प्राप्त गरे ।
उत्कृष्ट बलर भने बाराका सेराज हवारी घोषित भए । उनले पाँच हजार पाएका छन् । फाइनल खेलको ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ रौतहटका सोबेन्द्र घोषित भए । उनले पनि पाँच हजार प्राप्त गरे ।

विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य विशाल घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कमिटी सदस्य लक्ष्मण रानाभाट, एमालेका स्थानीय नेता पूर्णचन्द्र तिमिल्सिना, शुभारम्भ कलेजका अध्यक्ष लाल पुडासैनी, जीतपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमलाल बम्जनलगायतले पुरस्कार वितरण गरेका थिए ।
जीतपुरसिमरा उमपहानगरपालिकाको सहयोगमा जीतपुरसिमरा स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा बारा, पर्सा, मकवानपुरसहित ६ टिमको सहभागिता रहेको थियो ।