क्यालगरीमा एनआरएनए क्यानडाको `मिट एण्ड ग्रिट´ सम्पन्न

श्रीराम रेग्मी
(क्यालगरी) क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम क्यालगरी शहरमा सम्पन्न भएको छ ।
एनआरएनए क्यानडाको निर्वाचनबाट हालै निर्वाचित अध्यक्ष जगन सापकोटालगायत पदाधिकारी संगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
एनसिसिएसको रिसोर्स सेन्टरमा आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई संस्थाका निवर्तमान अध्यक्ष माधव दुलालले खादा तथा प्रमाण पत्र प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष सापकोटाले आफ्नो आगामी कार्यकालमा क्यानडामा बसेका गैर आवासीय नेपालीको हकहित तथा नेपालको विकासमा प्रतिवद्ध भएर लाग्ने समेत उल्लेख गरेका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष दुलालले आफ्नो कार्यकालमा एनआरएन क्यानडाले धेरै राम्रो कामको सुरुवात गरेको बताए । उनले निर्वाचनका क्रममा केही समस्या देखिएपनि अन्तत: सबै एकजुट भई निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सबैलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा संस्थाका आईसीसी सदस्यहरू कमल भट्टराई तथा दिनेश घिमिरे, वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल, महिला उपाध्यक्ष समिक्षा कार्की, महासचिव शर्मिला रानाभाट, एनसीसी सदस्यहरू खुमा पाण्डे, प्रिन्जिया ढुंगेल, भिम तिवारीलगायत क्यालगरीमा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासचिव शर्मिला रानाभाट र एनसीसी सदस्य प्रिन्जिया ढुंगेलले गरेका थिए ।