टेक्सासमा ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया सम्पन्न

टेक्सास (अमेरिका): गैरआवासीय नेपाली संघ (एनआरएनए) टेक्सास च्याप्टरको आयोजना र पानस अमेरिकाको सहकार्यमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम टेक्सासस्थित भेटघाट रेस्टुरेन्टमा भएको हो।
अन्तरक्रिया कार्यक्रममा एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष निलेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने सचिव रोचक गौतमले सञ्चालन गरेका थिए। पानस अमेरिकाका अध्यक्ष रवि रावलले अतिथिहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा एनआरएनए आईसीसीका महासचिव गौरि राज जोशी, एनआरएनए एनसीसीका उपाध्यक्ष कुमार तामाङ, एनआरएनए आईसीसीका सदस्य सोफिन थापा, एनआरएनए एनसीसीका सदस्य राजेश अधिकारी, युएनेका संस्थापक अध्यक्ष पासाङ लामा, युलेस सिटीका उपमेयर टिका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, पत्रकार महासंघ, रिपोर्टर्स क्लब र नेजाका प्रतिनिधिहरूसहित एक सय भन्दा बढी व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूका जिज्ञासा सुनेपछि शाहीले नेपालको संविधान, वर्तमान राजनीतिक अवस्था, नागरिकता ऐन, र आगामी २०८४ को निर्वाचनबारे विस्तृत विचार राखेका थिए। उनले ठूलो राजनीतिक दलहरूले संविधान र ऐन परिमार्जन गरेर विकासमा अवरोध पुर्याएको आरोप लगाउँदै विदेशी नागरिकलाई मतदाता बनाएको समेत बताएका थिए।
गैरआवासीय नेपाली नागरिकतालाई उनले ‘कागजको खोस्टो’ मात्र भएको भन्दै यसको प्रभावकारितामा प्रश्न उठाए। उनले आगामी निर्वाचनमा सही नेतृत्व रोजे मात्र नेपाललाई समस्याबाट मुक्त गर्न सकिने बताएका थिए। अदालतदेखि अख्तियारसम्म राजनीतिक प्रभाव परेको भन्दै उनले सुधारका लागि प्रवासी नेपालीको साथ आवश्यक भएको स्पष्ट पारे।