गत आवको विवरण पेश गर्न सामुदायिक विद्यालयलाई जीतपुरसिमराको पत्र, अटेर गरे कारवाही गरिने

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका स्थायी सामुदायिक विद्यालयलाई आ.व. २०८०।८१ मा पालिकाबाट प्राप्त विभिन्न कार्यक्रम र सहयोगसम्बन्धी कागजात तत्काल पेश गर्न निर्देशन दिएको छ।
पाठ्यपुस्तक, पुस्तकालय, विद्यार्थी पोषिलो खाना, विज्ञान प्रयोगशाला, बाल विकास केन्द्र, लेखा तथा सामाजिक परीक्षण, अतिरिक्त क्रियाकलाप खर्च, बिजुली बत्ती, इन्टरनेट, डिजिटल सिकाइ सामग्री, परीक्षा केन्द्र व्यवस्थापन लगायतका शीर्षकमा खर्च भएको विवरण अझै पेश नगरिएको भन्दै उपमहानगरपालिकाले भदौ १० गते भित्र कागजात पेश गर्न निर्देशन दिएको हो ।
समयमै प्रतिवेदन पेश नगर्ने विद्यालयलाई लेखा परीक्षणमा समस्या हुने चेतावनी दिँदै उपमहानगरपालिकाले आवश्यक परेमा प्रधानाध्यापकको तलवबाट कट्टा गरी फर्छ्योट गर्ने जनाएको छ।
उपसचिव शिवजी प्रसादको हस्ताक्षरसहितको पत्रमा विद्यालयहरूले प्रतिवेदन पेश गर्न ढिलाइ गरेमा कडाइका साथ कारबाही हुने उल्लेख गरिएको छ।
