टेक्सासमा कृष्ण पाण्डेयले नयाँ विश्व कीर्तिमान घोषणा गर्ने


रामप्रसाद अधिकारी

५ भाद्र २०८२, बिहीबार १३:३१

टेक्सास (अमेरिका): विश्व कीर्तिमानी कृष्ण पाण्डेयले अमेरिकाको टेक्सासमा नयाँ कीर्तिमान घोषणा गर्ने भएका छन्। नेपाली समाज टेक्सास र गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सास च्याप्टरको संयुक्त आयोजनामा युलेसस्थित श्री पशुपति मन्दिरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो अर्को कीर्तिमानबारे सार्वजनिक गर्ने भएका हुन्।

पाण्डेयले यसअघि गिनिज वर्ल्ड रेकर्ड्समा कुनै पनि शब्दलाई उल्टोबाट भन्न सक्ने क्षमताका आधारमा विश्व कीर्तिमान कायम गरेका थिए। अब उनले नयाँ कीर्तिमानबारे घोषणा गर्ने जानकारी एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष निलेश श्रेष्ठले दिएका छन्।

आयोजक संस्थाका महासचिव बिजय भुषालले सबै नेपालीलाई कार्यक्रममा उपस्थित भई पाण्डेयलाई हौसला बढाउन आग्रह गरेका छन्।

२४ अगष्टका दिन दिउँसो २ बजे हुने कार्यक्रममा सञ्चारकर्मीहरूलाई विशेष निमन्त्रण गरिएको छ। पाण्डेयको नयाँ कीर्तिमानी प्रयासबारे प्रत्यक्ष जानकारी पाउने अवसर उक्त पत्रकार सम्मेलनमा सहभागी सञ्चार माध्यमलाई उपलब्ध गराइनेछ।

कार्यक्रमका लागि सम्पूर्ण तयारी भइरहेको र सहभागीलाई स्वागत गर्न आयोजक संस्थाले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्