विभागीय डर्बीमा एपीएफलाई सफलता, उचाल्यो नेपोभिट महिला फुटबलको उपाधि

सिमराः नेपाल एपीएफ क्लबले नेपोभिट अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । सिमरा रंगशालामा सोमबार राति सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।
विभागीय डर्बीमा टोलीलाई उपाधि दिलाउन एपीएफकी रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । आर्मीले लिएको अग्रता उल्टाउँदै उपाधि जित्ने क्रममा घिसिङले सानदार गोल गरेकी थिईन् ।
यसअघि आर्मीले खेलको ९औं मिनेटमा सञ्जु कुमालको गोलबाट अग्रता लिएको थियो । दिपा शाहीको पासलाई सदुपयोग गर्दै सञ्जुले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिईन् ।

वर्षाले प्रभावित मैदानमा एपीएफले खेलमा फर्कने प्रयास गरेपनि पहिलो हाफमा सफल हुन सकेन । दोस्रो हाफमा एपीएफ उत्कृष्ट लयमा देखियो । दोस्रो हाफको खेल नियन्त्रणमा राख्दै एपीएफले जित हात पारेको हो ।
खेलको ६४औं मिनेटमा अनिता बस्नेतको क्रसलाई हेडमार्फत गोल गर्दै रश्मीले खेल १–१ को स्थितिमा पुर्याएकी थिईन् । त्यसलगत्तै ६८औं मिनेटमा रश्मीले हेडमार्फत दोस्रो गोल गरिन् । कप्तान अनिता बस्नेतले प्रहार गरेको फ्रिकिकमा रश्मीको हेडर बलले जाली मात्रै चुमेन, एपीएफलाई उपाधि समेत दिलायो ।
उपाधिसहित एपीएफले पाँच लाख नगद प्राप्त गरेको छ भने आर्मीले दुई लाख ५० हजार पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रश्मीकुमारी घिसिङले एक लाख नगद हात पारेकी छिन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रश्मी घोषित भईन् । उनले प्रतियोगिता अवधीभर ९ गोल गरेकी थिईन् ।

यसैगरी उत्कृष्ट गोलरक्षक आर्मीकी कविता विक, उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेश पाण्डे, फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी सविता रानामगर घोषित भए । विधागततर्फ उत्कृष्ट भएका खेलाडी तथा प्रशिक्षकले जनही १० हजार हात पारे ।
विजेता तथा उपविजेता खेलाडीलाई पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), मुख्य प्रायोजक नेपोभिट टायल्सका संचालकद्धय शम्भुनाथ झा, निभा झा, बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक वकिल सिंह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, आयोजक सिमरा भेट्रानका अध्यक्ष विजय राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।
