नेपाली समाज टेक्सासको चुनावी सरगर्मी बढ्दै

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचन नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचन र नेतृत्वका लागि सामाजिक सञ्जाल तथा समुदायभित्र उम्मेदवारबारे चासो तीव्र रूपमा बढिरहेको छ।
अध्यक्ष पदका लागि चार जनाको नाम चर्चामा छ । जसमा बलराम पौडेल, विजय भुषाल, किरण पौडेल र जनक भण्डारी रहेका छन् ।
भण्डारी हालका वरिष्ठ उपाध्यक्ष, पौडेल उपाध्यक्ष, भुषाल महासचिव र किरण पौडेल प्रवक्ता हुन् । चारै जनाले संगठनका महत्वपूर्ण पद सम्हाली काम गरेका कारण समुदायभित्र पहिचान बनाएका छन्।
तीन जना सम्भावित उम्मेदवारले समुदायलाई आफू अध्यक्ष पदमा जाने तयारीमा रहेको जानकारी दिइसकेका छन् भने भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन्। यसले गर्दा अध्यक्ष पदमा प्रतिस्पर्धा यसपटक रोचक हुने देखिएको छ।
यस्तै महासचिव पदका लागि भिम अधिकारी र रामकृष्ण यादवको नाम चर्चामा छ। दुवैले औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गरेका छैनन्।
नेपाली समाज टेक्सासका पदाधिकारीहरूको अनुभव, योगदान र समुदायप्रतिको समर्पणकै कारण यो निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गर्न सकिन्छ। आगामी दिनमा अन्य सम्भावित व्यक्तिहरूले पनि उम्मेदवारीप्रति चासो देखाउन सक्ने अनुमान गरिँदै छ।
समुदायभित्र नेतृत्व चयनको चर्चा बढ्दै गएसँगै टेक्सासस्थित नेपालीहरू चुनावी प्रक्रियालाई उत्सुकतापूर्वक हेरिरहेका छन्।





