१६ घण्टामै हत्यारा पक्राउ गर्न सफल बस्नेत ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

सिमरा: पानी उद्योगका प्रवन्धकको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई १६ घण्टाभित्रै पक्राउ गर्न सफल जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक दीपककुमार बस्नेत मङ्सिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको कार्यक्षमताको कदर गर्दै बस्नेतलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्। बस्नेत हाल बारा प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत छन्।
मङ्सिर १२ गते बाराको प्रसौनी गाउँपालिका ६ भलुहीस्थित किरण वेभरेज प्रालिका प्रवन्धक राम किशोर सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उद्योग नजिकै शव फेला परेको थियो। सर्लाहीको धनकौल गाउँपालिका २ घर भएका ५० वर्षीय सिंहको हत्या घटनापछि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो।
अनुसन्धान टोलीले घटनामा संलग्न वीरगन्ज महानगरपालिका २२ का २१ वर्षीय राजन राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई नेपाल-भारत सीमा क्षेत्रबाट १६ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो। हत्या पश्चात् उनीहरू भारततर्फ फरार भएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका राम उक्त पानी उद्योगमा चालकको रूपमा कार्यरत थिए। आचरण राम्रो नभएको भन्दै प्रवन्धक सिंहले उनलाई कामबाट निकालेपछि रिसको आवेगमा हत्या गरेको बयान रामले प्रहरीसमक्ष दिएका छन्। घटनामा संलग्न दुवै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





