जेनजी आन्दोलनका क्रममा सुन्धारा जेलबाट फरार अभियुक्त बारामा पक्राउ

सिमराः जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका लागूऔषध मुद्दाका दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा करैयामाई गाउँपालिका ७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरी रहेका छन्।
प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई करैयामाई गाउँपालिका ७ पिपरा क्षेत्रबाट पक्राउ गरेको हो। दुवै जना लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा रहेका थिए।
आन्दोलनको क्रममा भदौ २४ गते कारागारको सुरक्षा व्यवस्था कमजोर भएको मौका छोपी उनीहरू फरार भएका थिए। पक्राउ परेका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





