चौथो मधेश प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता निजगढमा सम्पन्न

२० पदकसहित आयोजक जनज्योती डोजाङ प्रथम
सिमराः बाराको निजगढमा चौथो मधेश प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । निजगढ नगरपालिका ९ स्थित विद्यालयमा शनिबार सम्पन्न भएको प्रतियोगितामा आयोजक जनज्योती आधारभूत तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
चार स्वर्ण, ६ रजत र १० कास्यसहित आयोजक प्रथम भएको हो । यसैगरी तीन स्वर्ण, चार रजत र चार कास्यसहित महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङ द्धितीय भएको छ भने तीन स्वर्ण र दुई रजतसहित सर्लाहीको बरथहवा तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।

प्रतियोगितामा मधेश प्रदेश भित्रका १८ वटा तेक्वान्दो डोजाङबाट करिब दुई सय खेलाडीले सहभागिता जनाएका थिए । पुष ४ र ५ गते दुई दिन आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने पुम्सेतर्फ एकल र जोडी दुवै विधामा खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी आयोजकका सचिन लामा र उत्कृष्ट महिला खेलाडी रञ्जु दास घोषित भईन् । उत्कृष्ट खेलाडीले दुई हजार पाँच सय नगद प्राप्त गरे । यसैगरी स्वर्ण विजेता खेलाडीले एक हजार र रजत पदक जित्ने खेलाडीले जनही पाँच सय रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा पदक विजेता खेलाडीलाई निजगढ नगरपालिका ९ का वडाध्यक्ष रामचन्द्र कटुवाल, वडा नं. १३ का वडाध्यक्ष सूर्य घलान, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेश प्रदेश महासचिव राजकुमार लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछाने, बारा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठ, निजगढका अग्रज पत्रकार गोकुल घोरसाइने, प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव दिवाकर भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन निजगढ १३ का वडाध्यक्ष घलानले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै घलानले खेलकुदको विकासमा आफूले आउँदो दिनमा पनि सहयोग गर्ने बताए । यसैगरी प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि निजगढ ९ का वडाध्यक्ष कटुवालले दक्ष खेलाडी उत्पादनका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिँदै जानुपर्ने औल्याए ।

प्रतियोगिता आयोजना गर्न निजगढ नगरपालिकाको वडा नं. ९ र १३ को वडा कार्यालयसहित विभिन्न व्यक्ति र संघसंस्थाको सहयोग रहेको आयोजक तेक्वान्दो डोजाङका अध्यक्ष राजु माझीले जानकारी दिए ।







