सप्तरीबाट हराएका चार बालबालिकाको उद्धार


eShilalekh

७ पुष २०८२, सोमबार १७:२७

सप्तरी: सप्तरीको तिरहुत गाउँपालिकाबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको गस्ती टोलीले सोमबार हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित कोशी ब्यारेज क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएका बालबालिकामा तिरहुत गाउँपालिका ३ गोइठीका ७ वर्षीया श्रृष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदार रहेका छन्।

गस्ती टोलीले कोशी ब्यारेज क्षेत्रमा बालबालिकाहरूलाई शङ्कास्पद र अलपत्र अवस्थामा देखेपछि नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले आफ्नो घरठेगाना तथा त्यहाँ पुग्नुको कारण खुलाउन नसकेपछि कसैले ललाइफकाइ गरेर उनीहरूलाई उक्त स्थानसम्म पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ।

फेला परेका चारै जना बालबालिकालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। घरबाट हराएर अलपत्र परेका बालबालिका सकुशल फेला परेपछि उनीहरूका परिवारले राहत महसुस गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्