सिमरामा यसरी गरियो निर्वाचन प्रहरीको बिदाई (फोटो फिचर)

सिमरा: प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाई गरिएको छ। इलाका प्रहरी कार्यालय सिमराले आफ्नो मातहत तालिम लिएका ३०६ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानका साथ बिदाई गरेको हो।
देशभर निर्वाचन सुरक्षाका लागि खटाइएका अस्थायी निर्वाचन प्रहरीलाई बिहीबार बिदाई गर्न नेपाल प्रहरीले निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार इलाका प्रहरी कार्यालय सिमराले तालिम लिएर निर्वाचनमा खटिएका प्रहरीलाई औपचारिक कार्यक्रमबीच बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले निर्वाचन प्रहरीलाई टिका लगाएर प्रमाणपत्र प्रदान गरेका थिए। प्रमाणपत्र वितरण गर्दै उनले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा सुनिश्चित गर्दै मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पुर्याएको भन्दै निर्वाचन प्रहरीहरूको योगदानको प्रशंसा गरे। ‘निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा सुरक्षाकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। तपाईंहरूले अनुशासन र जिम्मेवारीका साथ काम गर्नुभएको छ’ उनले भने।

कार्यक्रमका क्रममा आफ्नो जिम्मेवारी पूरा गरी घर फर्कन लागेका निर्वाचन प्रहरीहरू खुसी देखिन्थे। प्रमाणपत्र ग्रहण गरेपछि उनीहरू सहकर्मीहरूसँग तस्बिर खिचाउँदै र अनुभव साटासाट गर्दै बिदाइको क्षणलाई स्मरणीय बनाइरहेका थिए।
कार्यक्रममा अन्य प्रहरी अधिकृतहरूले पनि निर्वाचन प्रहरीहरूको योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्रीलगायतको सहभागिता रहेको थियो।

प्रतिनिधिसभा निर्वाचनका लागि बारामा नेपाल प्रहरीतर्फ तीन हजार ६ सय ३८ जना र सशस्त्र प्रहरीतर्फ तीन सय ९८ जना निर्वाचन प्रहरीको भर्ना गरिएको थियो। तीमध्ये इलाका प्रहरी कार्यालय सिमराको मातहतमा रहेका तीन सय ६ जना निर्वाचन प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा खटाइएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जिल्लामा भर्ना गरिएका सबै निर्वाचन प्रहरीलाई बिदाई गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन प्रहरीले तालिम लिएको स्थानबाटै उनीहरूलाई औपचारिक रूपमा बिदाई गरेर घर पठाइएको हो।










