प्रधानमन्त्री कप क्रिकेट: वर्षाका कारण पहिलो दिनको दुवै खेल रद्द, टोलीले बाँडे अंक

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनका दुबै खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षाले खेल संचालन सम्भव नभएपछि वीरगन्ज र जनकपुरधामका दुवै खेल रद्द भएका हुन् ।
वीरगन्जस्थित नारायणी रंगशालामा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भएपनि वर्षाका कारण बीचमै रोकिएको थियो। उता जनकपुरधामको रामजानकी रंगशालामा मधेस र कोशी प्रदेशबीचको खेल भने टस नहुँदै रद्द भएको हो। खेल रद्द भएसँगै चारवटै टोलीले समान १–१ अंक बाँडेका छन्।

वर्षा सुरु हुनुअघि वीरगन्जमा कर्णालीले ७ ओभरमा २० रन बनाएको थियो। ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन जोडेका थिए। लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिँदा राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन दिएका थिए। यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।
वर्षा नरोकिएपछि दुवै खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए । यसअघि जनकपुरधाममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्तकुमार कुशवाहा र वीरगन्जमा महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए।

प्रधानमन्त्री कपको यस संस्करणको प्रतियोगिता मधेस प्रदेशका दुई रंगशाला र काठमाडौंका तल्लो तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ । प्रतियोगिताअन्तर्गत १९ खेल वीरगन्जमा, १७ खेल जनकपुरमा र बाँकी १० खेल मुलपानीमा हुने तालिका छ।

आईसीसी विश्वकप लिग-२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा यस पटक कुनै पनि खेल राखिएको छैन। क्यानले उक्त रंगशालामा तय भएका सबै खेलहरू मुलपानीमा सारेको छ।
झण्डै एक महिना संचालन हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता हो।







