अमेरिकामा चौथो एभरेष्ट ओपन तेक्वान्दो च्याम्पियनसिप आयोजना हुँदै

बाल्टिमोर (अमेरिका): अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोरमा चौथो एभरेष्ट ओपन तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता सीसीबीसी क्याटन्सभिल कम्युनिटी कलेजको ज्याक म्यान्ली वेलनेस एण्ड एथलेटिक सेन्टरमा मे १६ तारीख (जेठ १२) मा आयोजना हुने आयोजकले जनाएको छ ।
मेरील्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, ओहायो, न्यु जर्सी तथा केन्टकीलगायत विभिन्न राज्यबाट सहभागी हुने चार सय ५० भन्दा बढी खेलाडीहरूले प्रतियोगितामा ग्युरोगी र पुम्सेअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा डब्लुटी तथा यूएसएटी नियमअनुसार वर्ल्ड क्लास स्प्यारिङ, ओपन स्प्यारिङ, वर्ल्ड तेक्वान्दो स्पोर्ट पुम्से तथा परम्परागत तेक्वान्दो फर्म्स समावेश गरिने मास्टर सञ्जीव नेपालीले जानकारी दिएका छन् ।

प्रतियोगितामा उच्चस्तरीय निर्णायक व्यवस्थापनका लागि फ्लोरिडा, न्युयोर्क, न्यु जर्सी, मिशिगन, मेरील्याण्ड, पेन्सिलभेनिया, भर्जिनिया र क्यालिफोर्नियाबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका प्रमाणित रेफ्री र निर्णायकहरू सहभागी हुनेछन् । आधिकारिक प्रतिस्पर्धाका लागि आधुनिक डेडो इलेक्ट्रोनिक स्कोरिङ प्रणाली प्रयोग गरिने आयोजकले जनाएको छ ।
एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसनको सहकार्यमा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोले प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजकका अनुसार एभरेष्ट ओपन तेक्वान्दो च्याम्पियनसिप प्रत्येक वर्ष हुँदै आएको छ । यो प्रतियोगिता अमेरिकाभरका खेलाडी, प्रशिक्षक तथा मार्सल आर्ट विद्यालयहरूका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा अमेरिकाका राष्ट्रिय तेक्वान्दो खेलाडी तथा विश्व च्याम्पियन एरिक गनलाई एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसनद्वारा छात्रवृत्ति प्रदान गरिने भएको छ। न्यु जर्सीका खेलाडी गनलाई तेक्वान्दो क्षेत्रमा पुर्याएको योगदान र उपलब्धिको सम्मानस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

त्यसैगरी मास्टर कृशा र टोलीद्वारा नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ । यसले प्रतियोगितामा नेपाली कला, संस्कृति र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ । प्रतियोगितालाई केवल खेलकुद कार्यक्रम नभई युवा विकास, नेतृत्व क्षमता अभिवृद्धि, सांस्कृतिक विविधता तथा सामुदायिक एकताको उत्सवका रूपमा लिइएको प्रतियोगिताका इभेन्ट डाइरेक्टर सिनियर मास्टर कुमार कार्कीले बताए ।






