डलासमा आगामी शनिबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर हुने

डलास (टेक्सास): डलासमा रहेका दुईवटा लायन्स क्लबहरू डलास एभरेष्ट वुमेन्स लायन्स क्लब र डलास हिमालयन वुमेन्स लायन्स क्लबले निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्ने भएका छन् । इर्भिङस्थित सिटिके हेल्थ केयर एण्ड करियरमा शिविर आयोजना हुन लागेको हो ।
आउँदो जुलाई ११ तारिखका दिन शनिबार बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म शिविर आयोजना हुने लायन्स राधा अधिकारीले जानकारी दिईन् । आयोजकहरूका अनुसार ६ वर्ष पुगेका बालबालिकादेखि वृद्धवृद्धासम्मले सेवा लिन सक्नेछन् ।
आँखाको स्वास्थ्यबारे चेतना जगाउने र आवश्यक परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाई छ । आँखा जाँचका क्रममा चश्माको आवश्यकता परे निःशुल्क वितरण गरिने अधिकारीले बताईन् ।
कार्यक्रमलाई सफल बनाउन डलासका अन्य दुईवटा क्लबहरू डलास हिमालयन स्पोर्ट्स लायन्स क्लब र डलास पोखरा लायन्स क्लबले सहयोग गर्ने भएका छन् । आयोजकले डलास र वरपर बस्ने सबै नेपाली समुदायलाई यस कार्यक्रममा आएर आँखा परीक्षण गराउन आग्रह गरेको छ ।







