डलासमा दुई लायन्स क्लबद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न


रामप्रसाद अधिकारी

२८ असार २०८३, आईतवार १७:५२

डलास (टेक्सास): अमेरिकाको टेक्सास राज्यस्थित डलासमा क्रियाशील डलास एभरेष्ट वुमेन्स लायन्स क्लब र डलास हिमालयन वुमेन्स लायन्स क्लबको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

अर्भिङस्थित ‘सिटिके हेल्थ केयर एण्ड करियर’ को हलमा आयोजित शिविरमा २५ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा परीक्षण गराएका व्यक्तिहरूलाई आवश्यकता अनुसार निःशुल्क चश्मा उपलब्ध गराइएको लायन गंगा पौडेलले जानकारी दिईन् ।

सर्वसाधारणमा आँखाको स्वास्थ्यबारे चेतना जगाउने र आवश्यक परेकाहरूलाई प्रत्यक्ष सहयोग पु‍र्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको लायन्स राजेश अधिकारीले बताए । उनले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य सम्बन्धी परोपकारी कार्यक्रमहरूलाई निरन्तर रूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिविरलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि हिमालयन्स स्पोट्र्स लायन्स क्लबका अध्यक्ष दीपक भण्डारीले विशेष संयोजन तथा सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापनका अवसरमा लायन्स राधा अधिकारीले शिविरलाई सफल बनाउन आर्थिक तथा भौतिकरूपमा सहयोग गर्ने सहयोगी लायन्स क्लबहरू, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरिन् । आगामी दिनहरूमा पनि समुदायको हितलाई केन्द्रमा राखेर यस प्रकारका स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइने जानकारी उनले दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्