सांसद अरविन्द साहलाई कालो मसी दल्ने भन्दै फेसबुकमा आक्रोश पोख्ने एक युवक बारा प्रहरीको नियन्त्रणमा

सिमराः चुनावी घोषणापत्र अनुसार काम नगरेको भन्दै बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहसाहविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोख्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद साहका भाइले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाराले नेजामुद्धिन अन्सारीलाई बुधबार नियन्त्रणमा लिएको हो।
अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साहको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै खुला चुनौती दिएका थिए । उनले साउन ४ गते फेसबुकमा लेखेका थिए ‘मेरो ओपन च्यालेन्ज छ कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ को माननीय अरविन्द साहलाई जुन ठाउँमा भेटिन्छन् त्यही दल्ने हो है। आफ्नो मेनुफेस्टो अनुसार एक प्रतिशत पनि काम नगरेको जनताहरुको खुलासा ।’
यसैगरी अन्सारीले सोही दिन अर्को स्टाटस लेख्दै क्षेत्र अनुगमनमा आएका सांसद साहलाई भरत चोकमा भेटेर कालो मसी दली काठमाडौं फर्काइदिने चेतावनी समेत दिएका थिए ।
सांसद साहले चुनाव जितेयता जनतासामु गरेका प्रतिबद्धता र घोषणापत्र अनुसार कुनै काम नगरेको भन्दै अन्सारीले निरन्तर सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका थिए ।
उजुरी परेपछि सोधपुछका लागि अन्सारीलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिएका छन् ।
‘उजुरी परेपछि हामीले नियन्त्रणमा लिएर राखेका छौँ। अहिलेसम्म मुद्दा दर्ता भइसकेको छैन’ डीएसपी घलेले भने ‘दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भइरहेको छ। सहमति नभए कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउनेछौं ।’
अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ।







