महोत्तरीमा सर्पदंशबाट बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै


eShilalekh

७ श्रावण २०८३, बिहीबार १२:१९

महोत्तरीः महोत्तरीको बर्दिबास नगरपालिका १२ बिजलपुरास्थित चल्कीमा सर्पदंशका कारण एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् । बुधबार साँझ घरनजिकैको रुखमा फल टिप्ने क्रममा बालकलाई विषालु सर्पले टोकेको थियो ।

गम्भीर अवस्थामा उनलाई तत्काल बर्दिबास जनसेवा अस्पताल पुर्‍याई भेन्टिलेटरमा राखेर उपचार थालिए तापनि बिहीबार बिहान उनको मृत्यु भएको हो ।

उपचारका क्रममा लागेको करिब ७० हजार रुपियाँ तिर्न नसक्दा परिवारले अस्पतालबाट बालकको शवसमेत बुझ्न सकेको छैन । बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले अस्पताल परिवारको अवस्थाप्रति संवेदनशील रहेको र मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिइएको बताएका छन् ।

घटनाको खबर पाएलगत्तै मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री तथा युवा नेता पिताम्बर महतोसहितका प्रतिनिधिहरू अस्पताल पुगेका थिए ।

यस्तै स्थानीयवासीले पनि पीडित परिवारलाई तत्काल राहत दिन र आर्थिक अभावका कारण थप सास्ती भोग्नु नपर्ने वातावरण मिलाउन तीनै तहका सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्