बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

सिमराः बारामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा करैयामाई गाउँपालिका ८ का करिब ५० वर्षीय उमेश साह सोनार रहेका छन्।
करैयामाई गाउँपालिका ८ स्थित नरही चोकदेखि इटहर जाने सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले उमेश र पवन साह सोनारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनालगत्तै अचेत अवस्थामा फेला परेका दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाइएको थियो।
उपचारको क्रममा आइतबार बिहान उमेशको मृत्यु भएको हो भने उनको शव सोही अस्पतालमा राखिएको छ। अर्का घाइते पवनको टाउकोमा गम्भीर चोट लागेको र हाल न्युरो अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक घटनापछि फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार फरार चालक र मोटरसाइकलको खोजी कार्य तीव्र पारिनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।







