बिरामीको मृत्युपछि नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

वीरगन्जः वीरगन्जको नारायणी अस्पतालमा आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ ।
शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावको घटनामा छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्दै पाँच जना स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिका २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित परिवारजन र गाउँलेहरूले अस्पतालमा प्रदर्शन तथा तोडफोड गर्दा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो ।
घटनालगत्तै अस्पतालमा बसेको प्रशासन, पीडित पक्ष र सुरक्षा निकायको बैठकले ६ सदस्यीय छानबिन समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
छानबिन समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी, वीरगन्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकको तर्फबाट विकास पटेल र अस्पताल प्रशासनका तर्फबाट सुनीलकुमार रौनियार रहेका छन् ।
सोही समितिको सिफारिस र छानबिन अवधिका लागि आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाइएको छ ।
यता नेपाल चिकित्सक संघले अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र आक्रमणमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथिको निलम्बनप्रति गम्भीर आपत्ति जनाएको छ ।







