सामाजिक सेवामा लायन्स क्लब अफ काठमाडौं शुभारम्भको प्रभावशाली सुरुवात, ४० दिनमै १०२ कार्यक्रम

सिमराः लायन्स वर्ष २०२६/०२७ को सुरुआतसँगै लायन्स क्लब अफ काठमाडौं शुभारम्भले समाजसेवा र मानवीय सहायताका क्षेत्रमा प्रभावशाली उपस्थिति देखाएको छ । नयाँ कार्यवर्ष सुरु भएको ४० दिनभित्रै क्लबले एक सय दुई वटा विभिन्न सामाजिक तथा मानवीय सेवा कार्यहरू सम्पन्न गरेको हो ।
छोटो अवधिमा सम्पादन गरिएका सेवा गतिविधिहरूबाट क्लबले कूल ९० घण्टाको सेवा लायन्स इन्टरनेशनलको आधिकारिक पोर्टलमा समेत सफलतापूर्वक रिपोर्ट गरिसकेको छ। क्लबका सदस्य, स्वयंसेवक, सहयोगी एवम् सम्पूर्ण सेवा टोलीको निरन्तर सक्रियता र दृढ प्रतिबद्धताका कारण यो उपलब्धि सम्भव भएको क्लब नेतृत्वको भनाइ छ ।
यसै क्रममा क्लबको आयोजनामा सञ्चालित सात दिने बेकरी तालिम एक विशेष समारोहका बिच समापन गरिएको छ। ललितपुरको एकान्तकुनास्थित मजेस्टिक ग्रान्डमा आयोजित समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सिकेको सीप र ज्ञानलाई व्यावहारिक जीवनमा प्रयोग गरी स्वरोजगार तथा उद्यमशीलताको दिशामा अघि बढ्न प्रेरित गरिएको छ ।

समारोहमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर मनाकृष्ण श्रेष्ठ, पीडीजी सुमन भट्ट क्षेत्री, चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर चिफ भास्कर श्रेष्ठ लगायतका प्रमुख लायन्स नेतृत्व तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै क्लबका भाइस प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक सुरज कार्कीले तालिममा सहभागीहरूको उत्साहजनक सहभागिता र प्रशिक्षकहरूको अहोरात्र मेहनतले कार्यक्रम पूर्ण रूपमा सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा स्वरोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

सात दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूले विभिन्न प्रकारका बेकरी परिकारहरू बनाउनेसम्बन्धी सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हासिल गरेका छन्। यस तालिमले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तालिमलाई प्रभावकारी बनाउन व्यावसायिक प्रशिक्षण एवम् मार्गदर्शन प्रदान गर्नुभएका बेकरी हेड सेफ हर्कबहादुर तामाङलाई प्रशंसा गरिएको थियो। साथै कार्यक्रमको कुशल व्यवस्थापन तथा समन्वयका लागि संयोजक कार्की तथा आतिथ्यता र स्थान उपलब्ध गराएकोमा मजेस्टिक ग्रान्डप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।

समापन समारोहमा उपस्थित लायन्स नेताहरूले प्रशिक्षार्थीहरूको लगनशीलताको प्रशंसा गर्दै तालिमबाट प्राप्त सीपलाई उद्यमशीलतामा रूपान्तरण गर्न शुभकामना दिएका थिए । लायन्स क्लब अफ काठमाडौं शुभारम्भ परिवारले तालिम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेतृत्व, प्रशिक्षक, प्रशिक्षार्थी तथा सहयोगी संस्थाहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।







