मधेस प्रदेशमा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ भदौ २३ गते हुने

सिमराः नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत मधेस प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम भदौ २३ गते आयोजना हुने भएको छ । एमाले मधेस प्रदेश कमिटीको आयोजनामा धनुषाको लालगढस्थित गौतम होटलमा बिहान ११ः०० बजेदेखि कार्यक्रम हुने जनाइएको छ ।
पार्टी सुदृढीकरण तथा संगठन विस्तारका उद्देश्यले आयोजना गर्न लागिएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रदेशभरका प्रमुख नेता तथा जनप्रतिनिधिहरूको सहभागिता रहने एमाले मधेस सचिव मनोज पौडेलले जानकारी दिए । पौडेलका अनुसार कार्यक्रममा प्रदेशभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य, जनप्रतिनिधितर्फ प्रदेशसभा, जिल्ला समन्वय, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, पूर्व सांसद, पालिका कमिटीका अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्ष सहभागी हुनेछन् ।
संगठनलाई तल्लो तहसम्म सुदृढ र जुझारु बनाउने उद्देश्यले सुरु गरिएको जागरण अभियानलाई थप प्रभावकारी बनाउन यो अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । सचिव पौडेलले उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् ।







