मैले आरोप स्वीकार गरेको छैन, १-२ दिनमा प्रमाणसहित मिडियामा आउनेछु: सचिव बस्याल


eShilalekh

२३ भाद्र २०८३, मंगलवार २२:३०

सिमरा: भारतीय ट्रकको ठक्करबाट क्षति नै नभएको खानेपानी पाइपको क्षतिपूर्तिबापत रकम लिएको घटनाबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव अमृत बस्यालले आफूसँग पर्याप्त प्रमाण रहेको र १-२ दिनमै मिडियामार्फत सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् ।

छानबिन समितिले संस्थाका सचिव बस्याल र लेखा सहायक सुरज वैद्यको त्रुटि औल्याउँदै बुझाएको ९ पानाको प्रतिवेदन सार्वजनिक भएपछि स्थानीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै बस्यालले आफू चुप लागेर बस्नुको अर्थ आरोप स्वीकार गरेको रुपमा नबुझ्न समेत अनुरोध गरेका छन् ।

`मैले अहिलेसम्म केही बोलेको छैन, यसको मतलब मैले आरोप स्वीकार गरेको होइन´बस्यालले भने`म हाल प्रमाणहरू संकलन गरिरहेको छु । पर्याप्त प्रमाण जुटाएर १-२ दिनभित्र आफैं मिडियामा आउनेछु ।´

गत साउन २१ गते जीतपुरसिमरा-१ टेलिकम चोकमा भएको सवारी दुर्घटनामा खानेपानी पाइपमा क्षति नभए पनि २० हजार रुपैयाँ क्षतिपूर्ति लिएको र उक्त रकम १२ दिनसम्म बैंकमा दाखिला नगरेको विषयमा विवाद बढेपछि रामप्रसाद अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिले प्राविधिकको हस्ताक्षरविना अनुमानित लागत तयार पारिएको, भरपाइमा कार्यालयको छाप प्रयोग नगरिएको र रकम ढिलो दाखिला गरी अपारदर्शी व्यवहार देखाएको निष्कर्षसहित यस्तो कार्य दोहोरिन नदिनका लागि समितिलाई सुझाव दिएको थियो । उक्त प्रतिवेदनका आधारमा अध्यक्ष युवराज न्यौपानेले भदौ २१ गते सूचना जारी गरी प्रक्रियागत त्रुटि भएको भन्दै सचिव बस्याल र लेखा सहायक वैद्यलाई सचेत गराउने निर्णय गरेको जनाएका थिए ।

प्रतिवेदन सार्वजनिक गर्न स्थानीय युवाहरूले दिएको चौतर्फी दबाबपछि सोमबार प्रतिवेदन पढेर सुनाइएको थियो । छानबिनको प्रतिवेदन सार्वजनिक भएसँगै सचिव बस्यालले आफूमाथि लागेको आरोप खण्डन गर्न प्रमाणसहित मिडियामा आउने बताएपछि सिमरा खानेपानीको विवाद थप पेचिलो बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्